Fri. Oct 18th, 2024

प्रतिनिधिसभा बैठक शुरु   

काठमाण्डू,२०८१ जेठ ६ गते आईतबार । प्रतिनिधिसभाको आजको बैठक शुरु भएको छ । आज बिहान ११ बजेटका लागि बैठक बस्ने कार्यसूची भएपनि दूईपटकसम्म सारेर साढे चार बजेका लागि निर्धारण भएको थियो । दोस्रोपटक निर्धारण गरिएको समयभन्दा करिब दुई घण्टा ढिलोगरी बैठक शुरु भएको हो ।

प्रतिनिधिसभोको बैठक आज बिहान ११ बजे बस्नेगरी तय भएकोमा दलहरुबीच संसदीय छानबिन समितिको कार्यादेशमाथि सहमति जुट्न नसकेपछि दिउँसो २ बजेसम्मका लागि सारिएको थियो । त्यो अवधिमा पनि दलहरुबीच सहमति नजुटेपछि दोस्रोपटक सारेर साढे ४ बजेका लागि निर्धारण गरिएको थियो ।

बैठक सुरु भएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सभामुख देवराज घिमिरेले बोल्न समय दिनुभएपछि गृहमन्त्री लामिछानेले भनाइ राखिरहनुभएको छ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुने कार्यसूची राखिएको छ ।

त्यसैगरी, आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले गर्नुभएको सम्बोधनको प्रति टेबुल गर्नुहुने कार्यसूची छ । त्यस्तै, राष्ट्रपति पौडेलले जेठ १ गते दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि सभामुखले धन्यवाद प्रस्ताव प्रस्तुत गर्नुहुने पनि कार्यसूचीमा राखिएको छ ।

प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नुहुने कार्यसूची पनि आज राखिएको छ ।

प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा ५३ बमोजिम ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० पेश गर्नुहुनेछ । त्यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गर्नुहुने कार्यसूची निर्धारण गरिएको थियो । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’ लाई फिर्ता लिने प्रस्ताव पेश गर्नुहुने कार्यसूची छ । रासस

Facebook Comments