Fri. Sep 20th, 2024

विराटनगरमा उपचार गराइरहेका कोरोना संक्रमित ६ जना आज डिस्चार्ज हुँदै

काठमाडौं, २०७७ बैशाक २४ गते बुधबार

विराटनगरमा उपचार गराइरहेका ६ कोरोना संक्रमित भारतीय नागरिक कोरोना मुक्त भएका छन्। उनीहरुलाई बुधबार डिस्चार्ज गर्ने तयारी भएको छ ।  उदयपुरको एक मस्जिदमा बसिरहेका उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि बैशाख ५ र ६ गते विराटनगरस्थित कोसी अस्पतालको कोरोना उपचार केन्द्रमा भर्ना भएका थिए।

६ जनाको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएकाले बुधबार डिस्चार्ज गर्ने तयारी रहेको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो । ‘५ र ६ बैशाखमा अस्पताल भर्ना भएका १३ जना मध्ये ६ जना मुस्लिम धर्म प्रचारक जमातीले कोरोना जितेका हुन’ मन्त्री घिमिरेले भन्नु भयो ‘उनीहरुलाई डिस्चार्ज गर्दैछौँ।’

अन्नपूर्ण पोष्ट अनलाईनका अनुसार डिस्चार्ज हुनेमा ३०, २९, २८, २१, ३४ र २६ वर्षीय भारतीय नागरिक रहेका छन् । हाल नेपाल-भारत दुवैतर्फ लकडाउन भएकाले उनीहरुलाई डिस्चार्जपछि तत्काल विराटनगर-१६ रानीको एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिने मन्त्री घिमिरेले बताउनु भयो ।

मस्जिदमा १० वटा बेडरुम र अलग्गै १० वटा शौचालयको व्यवस्था रहेकोले उनीहरुलाई मस्जिदमै राखिने तयारी भएको हो । कोरोना विशेष अस्पतालका प्रमुख डाक्टर दीपक सिग्देलका अनुसार सबैको कोरोना पुनः परीक्षण गरिएकोमा ६ जनाको नेगेटिभ रिपोर्ट आएको हो।

विराटनगरको कोरोना अस्पतालमा ३१ जना स्रक्रमित उपचाररत् छन्। ती मध्ये २८ जना उदयपुरमा भेटिएका संक्रमित हुन्।

Facebook Comments