Tue. Sep 17th, 2024

रोजगारी सिर्जनासम्बन्धी अन्तरक्रिया   

विराटनगर, २०८१ जेठ २ गते बुधबार । युवा रोजगार अभिवृद्धि तथा प्रवर्द्धनका लागि निजी क्षेत्र र सरोकारवाला निकायबीच आज यहाँ अन्तरक्रिया सम्पन्न भएको छ ।

विराटनगर महानगरपालिकाको नमूना रोजगार सेवा केन्द्रद्वारा आयोजित अन्तरक्रियाका सहभागीहरुले रोजगारी सिर्जनामा ध्यान दिनुपर्नेमा जोड दिए । विकास निर्माणलाई तीव्र रुपमा अगाडि बढाएमा रोजगारी सिर्जना हुने उहाँहरुको भनाइ थियो ।

महानगरपालिकाले रोजगारीको खोजीमा रहेका युवा र रोजगारदाताबीच पुलको काम गर्ने गरेको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले बताउनुभयो । वडा नं. १९ का अध्यक्षसमेत रहनुभएका घिमिरेले महानगरले सञ्चालन गरेको रोजगार मेला कार्यक्रममा रोजगारदाता र रोजगारीको खोजीमा रहेका करिब चार हजारभन्दा बढी सहभागी भएको बताउनुभयो ।

आर्थिक महाशाखा प्रमुख दीपक पौडेलले रोजगारीको खोजीमा नमूना रोजगार सेवा केन्द्रमा आउने युवालाई रोजगारदातासित जोड्ने गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा रोजगार सहायक सरस्वती साहले नमूना रोजगार सेवा केन्द्रले गरिरहेका कार्यप्रगति प्रस्तुत गर्नुभयो । उहाँले सय दिने रोजगारीअन्तर्गत यस वर्ष ७६ जनालाई १० वटा वडामा विभित्र योजनामा सहभागी गराएको बताउनुभयो । थप ५१ जनालाई बारिष्ठा, गार्मेन्ट र विद्युतीय सवारी साधन मर्मत तालिम दिएको उहाँले जानकारी दिनुभयो । तालिम लिएकामध्ये ५० प्रतिशतभन्दा बढी स्वरोजगार भइसकेको साहको भनाइ छ ।

आइएलओका प्रतिनिधि सौरभराम जोशी र ‘एक्सन फर डेभलप्मेन्ट’का महेन्द्र प्रसाईंले रोजगारी अभिवृद्धिका लागि स्थानीय सरकारसित सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

उद्योग सङ्गठन मोरङका महानिर्देशक चूडामणि भट्टराईले रोजगारी सिर्जनाका लागि सबै मिलेर परिणामुखी काम गर्नुपर्नेमा जोड दिँदै छलफल र अन्तरक्रियाले मात्रै नहुने यसका लागि योजनाबद्ध रुपमा काम गर्नु आवश्यक रहेको औँल्याउनुभयो । रासस

Facebook Comments