Fri. May 17th, 2024

भरतपुर कोरोना अस्पतालमा चोरी : सिसिक्यामेरामा देखिएका कर्मचारीलाई कारबाही गर्न महानगरकाे आलटाल

भरतपुर, २०७७ बैशाक १६ गते मंगलबार

चितवनको भरतपुर कोरोना अस्थायी अस्पतालमा विभिन्न सामग्री कर्मचारीले नै चोरी गरेको सिसिटिभी फुटेज बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । तर, भरतपुर महानगरपालिकाले कर्मचारीमाथि कारबाही गर्नुको सट्टा छानबिन समिति बनाएर घटनालाई ओझेलमा पार्ने कोसिस गरेको छ ।

मंगलबार दिउँसो हेटौँडाबाट आएको अख्तियार टोलीले अस्पतालमा छापा मारी अस्पतालले अहिलेसम्म खरिद गरेको कागजपत्र नियन्त्रणमा लिएको छ ।

आयोगको प्रदेश ३ कार्यालयका सूचना अधिकारी शिवराज रेग्मीले आयोग टोलीले अस्पतालमा छापा हानेको पुष्टि गरे । ‘उजुरीसँग सम्बन्धित कागजात विवरण संकलनका लागि टोली अस्पताल गएको हो,’ उनले भने, ‘टोली फिल्डमै छ, आएपछि थप कारवाही अघि बढाउँछौं ।’

अस्पतालका सामान चोरी भएको सम्बन्धी सञ्चारमाध्यममा आएका विषयलाई उजुरीका रुपमा दर्ता गरी प्रारम्भिक छानविन अघि बढाएको उनले बताए । ‘प्रारम्भिक छानविनका आधारमा अनियमितता देखियो भने विस्तृत अनुसन्धानको प्रक्रिया अघि बढ्छ,’ उनले भने ।

यसअघि प्रदेश सरकारले अस्पताल सञ्चालनका लागि एक करोड रुपैयाँ सहयोग गरेको थियो । चितवन कांग्रेसले अस्पतालको हालसम्मको आर्थिक गतिविधिको छानबिन गरी सत्यतथ्य विवरण सार्वजनिक गर्न माग गरेको छ ।

अस्पतालका लेखापाल फणिन्द्र खनाल, भरतपुर अस्पतालका कर्मचारी सञ्जय बराल र महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत सूर्य तिवारीले अस्पतालको स्टोरबाट सामान बाहिर निकालेको भिडियो बाहिरिएको थियो ।

कार्यदलबाट बचाउ

भरतपुर कोरोना नियन्त्रण कार्यदलले भने भरतपुर कोरोना अस्पतालमा चोरी भनिएको प्रकरणको बचाउ गरेको छ । कार्यदलका संयोजक भरतपुर महानगरपालिकी प्रमुख रेणु दाहाल छिन् । कार्यदलले विज्ञप्ति जारी गर्दै भरतपुर अस्पतालको स्टोर र कोरोना विशेष (अस्थायी) अस्पतालको स्टोर एउटै ठाउँमा भएकाले व्यवस्थित मात्रै गरिएको भन्दै बचाउ गरेको हो ।

यसअघि कार्यदलमार्फत नगरपालिकाको नेतृत्वमा भरतपुर अस्थायी अस्पताल सञ्चालनमा थियो । चैत ७ गते स्थापना भएको अस्पताल भरतपुर अस्पतालमातहत चलाउने भनी चैत २१ गते सम्झौता भएको थियो । यसअघि कार्यदलले विपत्ति सामना गर्न ७२ घन्टामा अस्पताल तयार गरेको विषयको देशभरि प्रशंसा भएको थियो ।

अहिले भरतपुर अस्पतालकै मातहतमा कोरोना अस्पताल सञ्चालनमा रहेको छ । आरोपी कर्मचारीलाई कारबाही प्रक्रिया अगाडि नबढाई सिसिटिभी फुटेज लिंक गर्ने–गराउने प्राविधिकलाई काबाही गर्ने आसयको विज्ञप्ति आएपछि कार्यदलका सदस्य नै अहिले असन्तुष्ट छन् ।

अस्पतालले उद्योग संघका अध्यक्ष राजु पौडेलको संयोजकमा तीन सदस्यीय छानबिन समिति बनाएको भए पनि संयोजक पौडेलले विज्ञप्ति जारी गर्दै संयोजक पदमा रही काम गर्न असमर्थ रहेको बताएका छन् । यसअघि गठित छानबिन समितिको वैधानिकतामाथि प्रश्न उठेको थियो ।

फुटेजमा के छ ?

फुटेजमा खनाल, बराल र तिवारीले चैत ३० गते राति ९ः३० बजेसम्म बसेर सामान उठाएको देखिन्छ । उनीहरूले स्ट्याण्ड फ्यान, सर्जिकल मास्क, कम्प्युटरको स्क्रिन, स्यानिटाइजर, चप्पल, ग्लुस्टिक, साबुन, लामखुट्टे भगाउने धुप, बेगनलगायतका सामान तीन पोका बनाएर निकालेको देखिन्छ ।

सामान पोको पार्नेहरू बत्ती निभाएर स्टोर कोठाबाट बाहिरिन्छन् र केही समयपछि मोबाइलको लाइटको सहारामा अँध्यारो कोठामा पसेर करिब आधा घन्टा अगाडि तयार बनाएर राखेको तीनवटा पोको उठाउँछन् । अरू केही सामानहरू खोजेकोजस्तो पनि देखिन्छ ।

फसाउन खोजियो

चोरीको आरोप लागेकाहरू भने आफूहरूले सामान चोरी नगरेको भन्दै फसाउन खोजेको दाबी गर्छन् । बरु उनीहरू आफूहरूले दिनरात नभनी कोरोना अस्पतालमा काम गरेको बताउँछन् । महानगरपालिकाका स्वास्थ्य शाखा अधिकृत सूर्य तिवारीले भने, ‘केही व्यक्तिले चितवनमा हामीले काम ग¥यौँ भनेर हाम्रो चरित्रहत्या गर्न खोजिएको हो ।’

संलग्न कर्मचारीलाई निलम्बन गरी कारबाही गर : नेपाली कांग्रेस 

यस विषयमा प्रमुख जिल्ला अधिकारी नाराणप्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै नेपाली कांग्रेस चितवनले चोरी प्रकरणमा संलग्न कर्मचारीलाई निलम्बन गरी कारबाही गर्न माग गरेको छ । सभापति जितनारायण श्रेष्ठले विज्ञप्तिमा सिर्जित परिस्थितिको सम्पूर्ण जिम्मेवार भरतपुर महानगरपालिका र अस्पताल व्यवस्थापन समिति हुनुपर्ने बताएका छन् । नयाँ पत्रिका दैनिक अनलाईनबाट

Facebook Comments