Mon. May 6th, 2024

चेपाङ आवास कार्यक्रमः इच्छाकामनाका २२ घर निर्माण   

भरतपुर (चितवन), २०८१ वैशाख १४ गते शुक्रबार । चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन् । सङ्घीय सरकारको रु १ करोड ५० लाख अनुदानबाट विपन्न ती घर निर्माण गरिएका हुन् ।

पालिकाका सात वडामा आर्थिक अवस्था कमजोर भएका चेपाङ समुदाय छनोट गरेर घर निर्माण गरिएको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिनुभयोे । अब एक महिनाभित्रमा सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिनेछ ।

“घडेरी सम्याउने र जग खनेर ढुङ्गा हाल्ने काम सम्बन्धित लाभग्राहीको हो”, अध्यक्ष गुरुङले भन्नुभयो, “अरु सबै गाउँपालिकाले निर्माण गरिदिएको छ ।” उहाँले गाउँपालिकाले खरको छाना भएका र आर्थिक अवस्था कमजोर भएका चेपाङ परिवारलाई टिनको छानाको व्यवस्था गरेको जानकारी दिनुभयो । पालिकाको वडा नं १ मा पाँच, वडा नं २ मा दुई, वडा नं ३ मा दुई, वडा नं ४ मा दुई, वडा नं ५ मा दुई, वडा नं ६ मा तीन र वडा नं ७ मा छवटा घर निर्माण गरिएको छ ।

इच्छाकामना गाउँपालिका–१ कोलभन्ज्याङका अरसल चेपाङ भूकम्पले पुरानो घर भत्किएपछि छाप्रामा बस्दै आएको बताउनुभयो । उहाँले बर्खामा पानी चुहिने र हिउँदमा हुरीबतास र आगलागीको डर अब अन्त्य भएको बताउनुभयो । “गाउँपालिकाले घर बनाइदिएपछि निकै खुसी छौँ, छजनाको परिवार एउटै कोठामा बस्नुपर्ने बाध्यता अन्त्य हुने भएको छ”, उहाँले भन्नुभयो । इच्छाकामना गाउँपालिकामा दुई हजार पाँच सय चेपाङ परिवारको बसोबास छ । रासस

Facebook Comments