Tue. Apr 30th, 2024

पाकिस्तानमा चट्याङ र वर्षाका कारण ४१ जनाको मृत्यु   

लाहोर, २०८१ वैशाख ३ गते सोमबार । पाकिस्तानमा शुक्रबारदेखि आइतबारसम्ममा चट्याङ, हावाहुरी र बर्षाका कारण कम्तीमा ४१ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । मृतकमध्ये २८ जनालाई चट्याङ लागेको थियो ।

पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले आगामी दिनमा थप वर्षा हुने भएकाले पहिरो र आकस्मिक बाढीको चेतावनी दिएको छ ।

पाकिस्तानको सबैभन्दा ठूलो र बढी जनसङ्ख्या भएको प्रान्त पञ्जाबमा शुक्रबारदेखि आइतबारसम्म चट्याङ लागेर २१ जनाको मृत्यु भएको छ ।

’मैले एनडीएमएलाई प्रान्तहरूसँग समन्वय गर्न भनेको छु। र एनडीएमएले क्षति भएका क्षेत्रहरूमा राहत सामग्री हरू प्रदान गर्न,“ प्रधानमन्त्री शहबाज शरिफले सोमबार भने।
हावाहुरीका बेला चट्याङ पर्ने जोखिम खुला, ग्रामीण क्षेत्रमा बस्नेमानिस बढी हुने गरेका छन् ।

बलुचिस्तान प्रान्तमा चट्याङ लागेर कम्तीमा आठ जनाको मृत्यु भएको छ । प्रान्तका २५ जिल्ला वर्षाका कारण प्रभावित भएका छन् भने केही क्षेत्र डुबानमा परेका छन् ।

रमजानको पवित्र महिना इद उल फित्रको बिदापछि विद्यार्थीहरू फर्कन ढिलाइ गर्दै सोमबार र मङ्गलबार प्रान्तका विद्यालयहरू बन्द गर्न आदेश दिइएको थियो ।

दक्षिणी सिन्ध प्रान्तमा बाढीका कारण सडक दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।
उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वामा भारी वर्षाका कारण घर भत्किँदा चार बालबालिकासहित आठ जनाको मृत्यु भएको छ ।

पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो जरदारीले स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै चट्याङका घटनामा वृद्धि हुनुमा जलवायु परिवर्तनसम्बन्धी घटनालाई जिम्मेवार मान्न सकिने बताउनुभएको छ ।

पाकिस्तान अप्रत्याशित मौसमी ढाँचाका साथै प्रायः विनाशकारी मनसुनी वर्षाको जोखिममा रहेको छ । पाकिस्तानमा सामान्यतया जुलाईमा मनसुनी बर्षा हुनेगर्छ । एएफपी

Facebook Comments