Thu. May 16th, 2024

विनाशकारी महाभूकम्पको पाँच वर्ष पूरा, प्रधानमन्त्री भन्नुहुन्छ: ‘पुनर्निर्माण योजनाबद्ध ढङ्गले सफल हुन्छ’

काठमाडौं, २०७७ बैशाक १२ गते शुक्रबार

विनाशकारी महाभूकम्प गएको आज पाँच वर्ष पुगेको छ । वि.सं.२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पका कारण ८ हजार ७ सय ९० जनाको ज्यान गएको थियो । झण्डै २२ हजार नागरिक घाइते भएका थिए ।

भूकम्पबाट ठूलो मात्रामा भौतिक संरचनामा क्षति पुग्यो । भूकम्पबाट क्षति भएका घर, विद्यालय, स्वास्थ्य संस्था, सम्पदा, सार्वजनिक भवनलगायतका पुनर्निर्माणको काम अहिले पनि भइरहेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार भूकम्पले क्षति गरेका झण्डै ८८ प्रतिशत घर पुनर्निर्माण भएका छन् । लाभग्राही सूचीमा परेका ८ लाख २७ हजारमध्ये ५ लाख घर बनेका र १ लाख ९० हजार घर बन्ने क्रममा छन् । बन्न बाँकी घरको पनि यसै आर्थिक वर्षभित्रमा काम सक्ने लक्ष्य छ ।

झण्डै ७० हजार घरलाई सुरक्षित बनाउन प्रबलीकरणको काम भने बाँकी नै छ । त्यस्तै भूकम्प प्रभावित ३२ जिल्लामा क्षतिग्रस्त सात हजार पाँच सय ५३ विद्यालयमध्ये पाँच हजार ५ सय ९८ विद्यालय बनिसकेका छन् । १ हजार एक सय ९७ वटा स्वास्थ्य संस्थामध्ये ६ सय ६९ वटा स्वास्थ्य संस्थाको पुनर्निर्माण सकिएको छ ।

९ सय २० वटा सम्पदामध्ये ४ सय दुई वटा सम्पदाको पुनर्निर्माण भएको छ । महत्वपूर्ण धरोहर धरहरासहित रानीपोखरी, काष्ठमण्डप, सिंहदरबार, नुवाकोट दरबार, गुम्बालगायतको पुनर्निर्माण सक्ने काम पनि बाँकी नै छ ।

पुनर्निर्माण र पुनर्स्थापनाका काम भइरहेका बेला देखा परेको कोरोना भाइरस (काेभिड १९) सङ्क्रमणको असर, वित्तीय स्रोतको व्यवस्थापन, भूकम्प प्रभावितलाई जीविकोपार्जनका कार्यक्रम जस्ता चुनौती कायमै रहेकाे राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताउनुभएको छ । नेपालले पुनर्निर्माण र पुनर्स्थापनामा गरेको कामले विश्वसामु नमुना देखाएको ज्ञवालीले दाबी गर्नुभयो । नेपाली नागरिकमा विपद्को प्रतिरोधी क्षमता छ र कठिन अवस्थाका बीच पनि व्यवस्थापन गर्न सक्छन् भन्ने छवि बनेको उहाँको भनाइ छ ।

कोरोना भाइरसको यो महामारीबाट बाहिर निस्कने बित्तिकै बाँकी कामलाई पनि टुङ्गोमा पुर्‍याउन लागिपर्ने कार्यकारी अधिकृत ज्ञवालीले बताउनुभयो । प्राधिकरणको पाँच वर्षे अवधि आउँदो पुसमा सकिनेछ भनि उज्यालो अनलाईनले समाचार लेखेको छ ।

यसैबीच  प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम योजनाबद्ध ढङ्गले सम्पन्न गर्न सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले भूकम्प स्मृति दिवसका अवसरमा शुक्रबार दिनुभएको सन्देशमा पुनर्निर्माणका काम द्रुत गतिका साथ भइरहेको अवस्थामा अदृश्य शत्रुका रूपमा विश्वमा फैलिइरहेको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको लडाइँका कारण पुनर्निर्माण तथा पुनस्र्थापनाका काममा पनि गम्भीर असर परेको स्पष्ट पार्नुभएको छ ।

पाँच वर्षअघि २०७२ साल वैशाख १२ गते (आजकै दिन) गोरखाको बारपाकमा केन्द्रबिन्दु भई विनाशकारी भूकम्प गएको थियो । भूकम्प र त्यसपछिका पराकम्पबाट करिब नौ हजार जनाले ज्यान गुमाउनुपरेको थियो भने मुलुकले करिब सात खर्ब रुपियाँ बराबरको आर्थिक क्षति बेहोर्नुपरेको थियो ।

प्रधानमन्त्री ओलीले सन्देशमा त्यस विनाशकारी भूकम्पमा परी आफ्नो अमूल्य ज्यान गुमाउनुभएका सबै दिदीबहिनी तथा दाजुभाइको स्मरण गर्नुहुँदै हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।
भूकम्पले निजी आवास, पुराताìिवक तथा सांस्कृतिक महìवका सम्पदामा ठूलो क्षति पु¥याए पनि ‘पहिलेको भन्दा राम्रो र त्योभन्दा झन् बलियो’ भन्ने नाराका साथ पुनर्निर्माण अभियान थालिएको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले बितेका पाँच वर्षमा भूकम्प प्रतिरोधी र आकर्षक कयौँ संरचना बनाउन सफल भएको बताउनु भएको छ ।

भूकम्पपछि असुरक्षित स्थानमा रहेका चार हजारभन्दा धेरै लाभग्राहीलाई सुरक्षित स्थानमा जग्गा व्यवस्था गरी नयाँ बसोबासको प्रबन्ध मिलाइएको छ । करिब नौ हजार भूमिहीन तथा सुकुम्बासीलाई जग्गाको व्यवस्थापन सहित घर निर्माण गर्ने वातावरण मिलाइएको प्रधानमन्त्रीको सन्देशमा जनाइएको छ । ऐतिहासिक धरहरा र रानीपोखरीको अत्याधुनिक र सुन्दर पर्यटकीय गन्तव्यका रूपमा नयाँनिर्माण कार्य अघि बढेको छ । धरहराको दसौँ तल्ला ढलान भइसकेको छ । सम्पदा क्षेत्रमा पुनर्निर्माण सम्पन्न भएका र निर्माणका क्रममा रहेका गरी ९१ प्रतिशत प्रगति हासिल गरिएको पनि सन्देशमा उल्लेख गरिएको छ ।

नेपालको शैक्षिक जागरणको पहिलो विद्यालय दरबार हाइस्कुलको नवनिर्माण सम्पन्न भइसकेको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभएको छ । ‘यतिबेला विश्वका विभिन्न देश जस्तै हामी पनि कोरोना भाइरसको महामारीविरुद्धको लडाइँमा छौँ ’उल्लेख गर्नुहुँदै प्रधानमन्त्रीले कोरोना भाइरसविरुद्धको लडाइँमा पनि विनाशकारी भूकम्पपछि सिर्जित विपत्तिमा जस्तै संयम र साहसका साथ सामना गरेर अघि बढ्न सक्षम हुने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले भूकम्पपछिको राहत, उद्धार, पुनर्निर्माण तथा पुनस्र्थापनाको काममा अघि बढेझैँ सबै नेपालीको जीवन रक्षाका लागि कोरोना भाइरसविरुद्धको लडाइँमा एकताबद्ध हुन सबैमा आग्रह गर्नुभएको छ ।

अहिले लकडाउनका कारण सिङ्गो अर्थतन्त्र ठप्प प्रायः नै रहेको र यसबाट केही हदसम्म भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम पनि प्रभावित हुन पुगे पनि आवश्यक स्वास्थ्य उपकरणको व्यवस्थासहित अवरुद्ध पुनर्निर्माणको प्रक्रियालाई सुचारु गर्ने प्रबन्ध मिलाउन जरुरी भइसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले पुनर्निर्माण कार्यमा कुनै ढिलाइ नहोस् भनी समन्वय र प्रबन्ध मिलाउन सरकार गम्भीर र संवेदनशील रहेको बताउनुभएको छ भनि गोरखापत्र अनलाईनले समाचार लेखेको छ ।

Facebook Comments