Tue. Apr 30th, 2024

साझा यातायातका चार्जिङ स्टेसन उद्घाटन

काठमाण्डू,२०८० चैत २७ गते मंगलबार । साझा यातायात सहकारी संस्था लिमिटेडको १.१ मेगावाटको चार्जिङ स्टेसन उद्घाटन भएको छ । आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले १।१ मेगावाटको चार्जिङ स्टेसनको उद्घाटन गर्नुभएको हो । साझा यातायातले पहिलो पटक ललितपुरको पुल्चोकमा नेपालकै सबैभन्दा बढी पावर भएको चार्जिङ स्टेसनको शुरुवात गरेको हो ।

चार्जिङ स्टेसनसहित आजै ४० वटा विद्युतीय बस पनि औपचारिक रुपमा सञ्चालनमा आएका छन् । चार्जिङ स्टेसन उद्घाटन गर्नुहुदैँ उपप्रधानमन्त्रीसमेत रहनु भएका महासेठले चालु आर्थिक वर्षको अन्त्यमा काठमाण्डू उपत्यकामा आधुनिक ट्राफिक लाइट व्यवस्था गर्ने तयारी गरेको बताउनुभयो । उहाँले त्यसको लागि बजेटको व्यवस्थापन गरी पहिलो पटक काठमाण्डू उपत्यकामा आधुनिक ट्राफिक लाइट व्यवस्था गर्न लागिएको जानकारी पनि दिनुभयो । मन्त्री महासेठले विद्युतीय ट्याक्सी र बसहरुलाई भौतिक मन्त्रालयले दिनसक्ने र सरकारले दिनसक्ने सहुलियतको विषयमा छलफल भइरहेको बताउनु भयो ।

साझा यातायातले आउँदा दिनमा डिजेल गाडीलाई रूपान्तरित गरी बिजुली गाडी बनाएर परीक्षण गर्न लागेको साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले जानकारी दिनुभयो । उहाँले अहिले सञ्चालनमा आउने बसमा २६ सिट रहेको र ४५ मिनेटमा बस फुल चार्ज हुने बताउनु भयो । उहाँले एक पटक फुल चार्ज गरेपछि साझा यातायातका विद्युतीय सवारी २ सय किलोमिटरसम्म गुड्नसक्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले साझा यातायातमा काठमाण्डू महानगरपछि ललितपुर महानगरपालिकाको धेरै लगानी भएको बताउनु भयो । उहाँले ललितपुर महानगरको बाहिर क्षेत्रमा साझाका बस चल्ने र भित्रि कोर क्षेत्रमा सटलबस चलाउन साझालाई रकम दिइसकेको बताउनु भयो । साझाले २०७९ असोज २२ गते चीनको सिएचटिसी किनविङ (नानचिङ) अटोमोबाइल कम्पनी लिमिटेडसँग ४० वटा बस खरिदका लागि सम्झौता गरेर बस ल्याएको थियो । साझा यातायातले आफ्नै जग्गामा चार्जिङ स्टेसन बनाएको छ ।

कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेसनमा मात्रै दैनिक १ लाख युनिट विद्युत खपतबाट करिव दुई करोडको डिजेल र पेट्रोल प्रतिष्ठापन गर्ने गरेको बताउनु भयो । उहाँले यही ट्रेडमा विद्युत खपत हुँदा भविष्यमा ५ खर्बको आयातलाई प्रतिष्थापन गर्नसक्ने दाबी गर्नुभयो । घिसिङले विद्युतीय बस डिजेलबाट १० देखि १५ गुणा सस्तो रहेको बताउनु भयो । उहाँले अप्रेशन कष्ट १० गुणा सस्तो हुँदा पनि फाइदामा नआउने भन्ने नहुने बताउनु भयो ।

सरकारले विद्युत खपत बढाउन पुराना बसहरु चलिरहेकाले रिप्लेसमेन्टको नीति ल्याउन आवश्यक रहेको घिसिङको सुझाव छ । न्यूज एजेन्सी नेपाल

Facebook Comments