Sat. May 4th, 2024

विश्वकप खेल्ने क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक   

काठमाण्डू,२०८० चैत २६ गते सोमबार । आगामी जेठमा अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने आइसिसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रयोग गर्ने नयाँ जर्सी सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेप सदस्य सचिव टङ्कलाल घिसिङले संयुक्तरुपमा नेपालको नयाँ जर्सी सार्वजनिक गर्नुभयो ।

नेपालको नयाँ जर्सीमा रातो, हल्का सेतो र नीलोे रङ्ग मिश्रित गरिएको छ भने दुवै काँधमा नेपालको झण्डा अङ्कित रहेको छ । त्यस्तै जर्सीको तल्लो भागमा सगरमाथा अङ्कित छ भने छातीको एक भागमा प्रयोजकको लोगो र अर्को भागमा क्यानको लोगो रहेको छ ।

राससका अनुसार टी ट्वान्टी विश्वकपमा विभिन्न २० टोलीको सहभागिता रहेको छ । जसलाई समूह ए, बि, सि र डि गरी चार समूहमा विभाजन गरिएको छ । नेपाल भने समूह डि मा रहेको छ । नेपालकोे समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्डस् छन् ।

त्यस्तै समूह ए मा आयोजक अमेरिकासहित भारत, पाकिस्तान, आयरल्यान्ड र क्यानडा छन् भने समूह बी मा इङ्ग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान छन् । त्यस्तै समूह सी मा न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्युगिनी छन् । हरेक समूहका शीर्ष दुईमा रहने दुई टोली सुपर आठमा पुग्नेछन् । नेपालले विश्वकपमा दोस्रो पटक सहभागिता जनाउन लागेको हो । यसअघि नेपालले सन् २०१४ मा विश्वकप खेलेको थियो ।

Facebook Comments