Fri. May 17th, 2024

भारत र तिब्बत जनसरकारद्वारा नेपाललाई औषधि र स्वास्थ्य सामग्री प्रदान

काठमाडौं, २०७७ बैशाक १० गते बुधबार

भारत र चीनको स्वशासित क्षेत्र तिब्बत जनसरकारले कोभिड- १९ विरुद्ध लड्न नेपाललाई औषधि, स्वास्थ्य सामग्री र उपकरण पठाएका छन् । भारत सरकारले दिएको २३ टन औषधि काठमाडौं आइपुगेको छ भने तिब्बत सरकारले ल्हासाबाट पठाएको स्वास्थ्य सामग्री तातोपानी नाकामा आइपुगेको छ ।

भारतबाट पठाइएका औषधि नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गर्नुभएको छ ।

नेपाल र भारतबीच जारी सहकार्यको क्रममा नेपाललाई अनुदानमा औषधि हस्तान्तरण भएको भारतीय राजदूतावासका प्रवक्ता अभिषेक दुबेले जानकारी दिनुभयो । ‘भारतका जनताका तर्फबाट नेपाली जनताका लागि उपहारस्वरूप औषधि आएको हो,’ दुबेले नयाँ पत्रिकासँग भन्नुभयो, ‘पारासिटामोलको ३.२ लाख डोज, हाइड्रोक्सिक्लोरोक्विनको २.५ लाख डोेज र अन्य गरी गरीे कुल ८.२५ लाख डोज अत्यावश्यक औषधिहरू छन् । नेपाललाई भारतको सहयोग जारी रहन्छ ।’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गत २ चैतमा सार्कका शीर्ष नेताहरूको भिडियो सम्मेलनमा घोषणा गरेको आपतकालीन कोषमा राखेको १० करोड अमेरिकी डलरमध्येबाट नेपाललाई अनुदान दिएको हो ।

नेपाली सेनाले पनि भारतबाट औषधि खरिदको प्रक्रिया अघि बढाएको छ । भारतमा व्युरो अफ फर्मा पिएचओज् अफ इन्डिया (बिपिपीआई)सँग सेनाले औषधि खरिद गर्न लागेको छ । परराष्ट्र मन्त्रालयमार्फत सेनाले डेढ करोड भारतीय रुपैयाँ (दुई करोड ४० लाख नेपाली रुपैयाँ) दिल्लीस्थित नेपाली दूतावासलाई बिहीबार भुक्तानी भएपछि औषधि खरिद प्रक्रिया अघि बढ्नेछ ।

तिब्बतले दिएको औषधि तातोपानीमा 
तिब्बत सरकारले नेपाललाई दिएको अत्यावश्यक स्वास्थ्य सामग्री बुधबार तातोपानीमा नेपाली अधिकारीले बुझेका छन् । सोमबार ल्हासाबाट पठाइएका सामग्री मंगलबार बेलुका तातोपानी आइपुगेको हो भने बुधबार नेपाली अधिकारीलाई तिब्बतमा रहेका चीनको परराष्ट्र विभाग र भन्सार कार्यालयका अधिकारीले हस्तान्तरण गरेका हुन् ।

यी सामान २८ चैतमा ल्हासामा तिब्बतका परराष्ट्र विभागका महानिर्देशक पाइमा यांग चोंगले नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्कीलाई औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको थियो । तिब्बत सरकारको अनुदान सामग्री ल्हासामा औपचारिक रूपमा मात्रै हस्तान्तरण भएको थियो । ल्हासाबाट तातोपानीसम्म तिब्बत सरकारकै खर्चमा स्वास्थ्य सामग्री ढुवानी भएको तिब्बतस्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ ।

तिब्बत सरकारले १० हजार थान एन ९५ मास्क, १० हजार थान चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि पिपिई, एक हजार थान इन्फ्रेयर्ड थर्मोमिटर, दुईवटा पिसिआर मेसिन तथा २० हजार थान टेष्टिङ किट्स र ऱ्याल राख्ने २० हजार थान बट्टा र ५० बाकस कीटाणुनाशक वाइप्स पेपर दिएको छ । नेपाल सरकारसँग स्वीकृति लिएर नेपाली महावाणिज्य दूतावासले तिब्बत सरकारलाई स्वास्थ्य सामग्री सहयोगका लागि एक महिनाअघि आग्रह गरेको थियो । तिब्बतमा चीन सरकारले पठाएका स्वास्थ्य सामग्रीबाट नेपाललाई सहयोग गर्न महावाणिज्य दूतावासको अनुरोध थियो । बेइजिङस्थित नेपाली दूतावासले तिब्बतको समेत समन्वय गरेको थियो ।

‘तातोपानी नाका हुँदै स्थलमार्गबाट स्वास्थ्य सामग्री बुधबार नै काठमाडौं पुग्नेछ । हाम्रो तत्कालको आवश्यकता यसबाट समाधान हुनेछ भन्ने अपेक्षा छ,’ महावाणिज्यदूत कार्कीले ल्हासाबाट टेलिफोनमा भन्नुभयो । महावाणिज्यदूत कार्कीकै प्रयासमा तिब्बत सरकारको सामान आइपुगेको हो । चीनको केन्द्र सरकारले पनि नेपाललाई आवश्यक स्वास्थ्य सामग्री पठाउने आश्वासन दिइसकेको छ । यसअघि सिचुआन प्रान्तबाट नेपाललाई स्वास्थ्य सामग्री अनुदानमा प्राप्त भइसकेको छ । नयाँपत्रिका अनलाईनबाट

Facebook Comments