Tue. Apr 30th, 2024

साढे दुई अर्ब लागतमा कटहरीमा अस्पताल बन्दै   

मोरङको ग्रामीण क्षेत्रमा सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ ।

मोरङ, २०८० चैत २६ गते सोमबार । मोरङको ग्रामीण क्षेत्रमा सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ । सीमावर्ती ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिब तथा सीमान्कृत नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित कटहरी गाउँपालिका-२ हल्दिबारीमा अस्पताल निर्माण सुरु गरिएको हो ।

जीवन विकास लघुवित्त संस्थाले रु दुई अर्ब ५० करोडको लागतमा सात तले अस्पताल निर्माण सुरु गरेको हो । संस्थाका अनुसार हाल रु ६४ करोड लागतमा अस्पतालको एउटा भवन निर्माण भइरहेको छ भने आगामी वर्ष थप दुईवटा भवन निर्माण हुने अस्पतालका अध्यक्ष एवं मोरङ निर्वाचन क्षेत्र नंं. ५ का सांसद योगेन्द्र मण्डलले जानकारी दिनुभयो ।

कटहरी बजार चोकबाट दक्षिणतर्फ दुई किलोमिटर दूरीमा निर्माण सुरु भएको अस्पताल सञ्चालनबाट स्थानीयले विभिन्न अवसरका साथै रोजगारी प्राप्त गर्ने उहाँको भनाइ छ । रकम अभावमा नागरिकले स्वास्थ्य उपचार गर्न नपाई मृत्यु हुन नपरोस् हेतुले सो क्षेत्रमा अस्पताल निर्माण सुरु गरिएको सांसद मण्डलले बताउनुभयो ।

उक्त सामुदायिक अस्पताल हाललाई एक सय शय्याको हुनेछ । अध्यक्ष मण्डलले अस्पतालमा सो क्षेत्रका स्थानीयले उपचारमा ५० प्रतिशत छुट पाउने बताउनुभयो । “यस क्षेत्रमा बसोबास गर्ने भूमिहीन सुकुम्बासी, गरिब, किसान, मण्डल, किसान र ऋषिदेवलगायतउपचारका लागि विराटनगर आउनु पर्दा निकै धेरै खर्च हुने गरेको थियो, अस्पताल निर्माणपछि सुलभ शुल्कमा उपचार पाउनेछन्”, उहाँले भन्नुभयो ।

राससका अनुसार  आफ्नै घर आँगनमा उपचारका व्यवस्था हुने भएपछि आफूहरु निकै खुसी भएको स्थानीय रवि मण्डलले बताउनुभयो । अस्पताल २०८१ साल असोज महिनामा सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । अस्पतालमा अन्य अस्पतालको तुलनाा सस्तो शुल्कमा उपचार उपलब्ध गराइने अस्पतालले जनाएको छ ।

सो क्षेत्रमा अस्पताल निर्माणपछि भारतीय नागरिकहरु पनि उपचारका लागि आउनसक्ने अध्यक्ष मण्डलको भनाइ छ । कटहरी गाउँपालिका-२ सुकुम्वासी बस्तीकी ३५ वर्षीया रेवतीदेवी ऋृषिदेवले गाउँमा अस्पताल स्थापनाले सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध हुनका साथै रोजगारीसमेत प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

Facebook Comments