Thu. May 16th, 2024

प्रहरी हवल्दार देवीप्रसाद भट्टराईको प्रहरी सम्मान सहित अन्त्यष्टि

विराटगनर, २०७७ बैशाक ८ गते सोमबार

जनसेवामा कार्यरत (ड्युटी) रहँदैको अवस्थामा मृत्युवरण गर्नुभएका प्रहरी हवल्दार देवीप्रसाद भट्टराईको प्रहरी सम्मान सहित सोमबार अन्त्यष्टि गरिएको छ ।

सुनसरी जिल्लाको रामधुनी नगरपालिकास्थित रामधुनी सुनसरीघाटमा प्रहरी सम्मान सहित हिन्दू परम्परा अनुसार भट्टराईको अन्त्यष्टि गरिएको हो । सोलुखुम्बु जिल्लास्थित अस्थायी प्रहरीचौकी दोर्पुका इन्चार्ज देवीप्रसादको ड्युटीमा कार्यरत रहेकै अवस्थामा आईतबार विहान ३ बजे मृत्यु भएको हो । सोलुखुम्बु प्रहरी प्रमुख टेकुनन्द ईवा लिम्बूका अनुसार ड्युटीमै रहेका बेला शनिबार राती १२ बजे अत्यधिक पेट दुखेपछि वहाँलाई जिल्ला अस्पताल फाप्लु उपचारका लागि लगिएकोमा बेहोश अवस्थामै मृत्यु भएको हो ।

वि.सं.२०३५ सालमा भोजपुर जिल्लाको तत्कालिन देवान्टार गाउँ पञ्चायत वडा नंं.१, देवान्टारमा जन्मनु भएका देवीप्रसाद भट्टराईले सोही गाउँको शिक्षा क्षमाकन्या माध्यमिक विद्यालयबाट एसएलसी पास गर्नुभएको थियो ।

सो विद्यालयका शिक्षकद्वय विदुर भट्टराई तथा अर्जुन नेपाल देवीप्रसाद सानै उमेरदेखि मिलनसार, कर्तव्यपरायण र अनुसाशित विद्यार्थी रहेको स्मरण गर्नुहुन्छ । पिता मुधसुदन तथा माता भगवती भट्टराईका सुपुत्र देवीप्रसाद २०६० सालमा नेपाल प्रहरीमा भर्ना हुनुभएको हो ।


सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नं.४ लालपुरका स्थायी बासिन्दा देवीप्रसाद भट्टराईका २ छोरा, एक छोरी र श्रीमति हुनुहुन्छ ।

Facebook Comments