Mon. May 20th, 2024

आयात घट्यो, निर्यात वृद्धिदर पनि प्रभावित

काठमाडौं, २०७७ बैशाक ८ गते सोमबार

कोरोनाभाइरस (कोभिड-१९) नियन्त्रणका लागि मुलुकभर लकडाउन गरिएसँगै वैदेशिक व्यापार पनि प्रभावित भएको छ । अघिल्ला वर्षमा उच्च दरले बढ्ने आयात व्यापार र व्यापारघाटाको वृद्धिदर यस वर्ष भने रोकिएको छ । भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो नौ महिनामा आयात सात प्रतिशतभन्दा बढीले घटेको छ ।

आयातमा भएको कमीले समग्र वैदेशिक व्यापार प्रभावित भएको भन्सार विभागले जारी गरेको तथ्याङकले देखाएको छ । कोरोना भाइरसको प्रभावले धेरै आयात हुने वस्तुको आयात कम हुँदा समग्र आयातमा ७.४५ प्रतिशतले कमी भएको तथ्याक छ । अत्यावश्यक वस्तुबाहेक अन्य वस्तुको आयातमा कमी भएसँगै समग्र वैदेशिक व्यापार घटेको हो ।

विभागका अनुसार चालू आर्थिक वर्षको ९ महिनामा ९ खर्ब ८२ अर्ब ५३ करोड रुपैयाँ बराबरको आयात भएको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा ७.४५ प्रतिशतले कम हो । आव २०७५÷७६ को सोही अवधिमा १० खर्ब ६१ अर्ब ६१ करोड रुपैयाँ बराबरको आयात भएको थियो । यो अवधिमा ७८ अर्ब ८१ करोड ८६ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । यो तथ्याक गत आवको तुलनामा १२.८८ प्रतिशतले बढी हो । गत वर्ष सो अवधिमा ६९ अर्ब ८२ करोड २३ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो । यसले समग्र वैदेशिक व्यापारमा निर्यातको हिस्सामा वृद्धि गरेको छ । जसले व्यापारघाटा समेत घटाएको छ । आयातमा कमी र निर्यातमा भएको वृद्धिले नौ महिनामा व्यापार घाटा घटेको छ । अहिले व्यापार घाटा ९ खर्ब ३ अर्ब ७१ करोड रुपैयाँमा झरेकोे छ ।

अघिल्लो वर्ष ११ खर्ब ३१ अर्ब ४३ करोड रुपैयाँ व्यापार घाटा रहेको थियो । लकडाउनका कारण सवै भन्दा धेरै आयात पेट्रोलको खपत कम हुँदा आयातमा समेत कमी आएको छ । यस्तै विलासिताका वस्तु आयातमा सरकारले रोक लगाएको थियो । कोरोना भाइरसका कारण अत्यावश्यक वस्तु बाहेक अन्य वस्तुको आयात नहुँदा मुलुकमा आयातमा उलेख्य कमी आएको हो । विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा नेपालको समग्र वैदेशिक व्यापार १० खर्ब ६१ अर्ब ३५ करोड रुपैयाँ बराबरको पुगेको छ ।

अहिले समग्र वैदेशिक व्यापारमा आधा भन्दा बढीको गिरावट आइसकेको छ । कोरोनाका कारण समग्र वैदशिक व्यापार अघिल्लो वर्षको तुलनामा समेत कम भएको छ । मुलुकमा ४ चैतबाट अन्तराष्ट्रिय उडान(अवतरणमा रोक लगाएको थियो । त्यसपछि हवाईमार्गमार्फत हुने व्यापार बन्द भएको छ । निर्यात बजारको ठूलो हिस्सा हवाई कार्गो उडानमा निर्भर रहेको छ ।११ चैतयता सरकारले लकडाउन घोषणा गरेपछि दक्षिणतर्फको सीमा नाकाबाट भइरहेको नियमित आयात निर्यात प्रभावित भएको छ । यसअविधमा अत्यावश्वक वस्तुको आयात मात्र भएको छ ।

सरकारले पनि औषधीजन्य सामग्रीको आयातलाई प्राथमिकता दिएको छ । उत्तरतर्फको रसुवागढी नाका बन्द भएको करीव ३ महिना पुग्न लागिसकेको छ । जसले गर्दा पनि वैदेशिक व्यापारमा उच्च गिरावट आएको विभागको तथ्यांक छ । सरकारले १६ चैतबाट लागु हुने गरी महंगा गाडीको आयात रोकेको छ । यसबाहेक अन्य केही वस्तुको आयातमा समेत रोक लागेपछि वैदेशिक व्यापारमा गिरावट देखिएको हो ।

यस वर्ष आयात र निर्यातको हिसातर्फ पनि क्रमशः निर्यातको हिस्सा बढ्दो क्रममा रहेको छ । वैदेशिक व्यापारमा निर्यातको हिस्सा ७.४३ प्रतिशत रहेको छ । आयातको हिस्सा ९२.५७ प्रतिशत छ । यस वर्ष वैदेशिक व्यापारमा निर्यातको हिस्सा २०.३६ प्रतिशतले वृद्धि भएको हो । कारोबार दैनिकबाट

Facebook Comments