स्वास्थ्य सामाग्री खरिद गर्न तीनवटा कम्पनीसँग सम्झौता, ३० कराेडकाे खरिद गरिदै
काठमाडौं , २०७७ बैशाक ६ गते शनिबार
स्वास्थ्य सेवा विभागले अत्यावश्यक स्वास्थ्य सामग्री खरिदका लागि तीनवटा कम्पनीसँग सम्झौता गरेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार, तीनवटा कम्पनीसँग दुई साताभित्र सबै सामान ल्याउनेगरी करिव ३० करोड मूल्य बराबरको सम्झौता भएको छ ।
ओम सर्जिकल, हाम्रो मेडि कन्सर्न र लुम्बिनी हेल्थ केयरले कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण नियन्त्रण कार्यमा प्रयोग हुने स्वास्थ्य सामग्री ल्याउने जनाइएको छ । जसमा विभिन्न किसिमका व्यक्तिगत सुरक्षा उपकरण, मास्क, चस्मा, गाउनलगायत रहेका छन् । महानिर्देशक श्रेष्ठका अनुसार, तीन कम्पनीसँग २९ करोड ९९ लाख ४३ हजार ३१५ रुपियाँको सामान गरिद गर्ने सम्झौता भएको छ ।
कम्पनीले बिहीबार बैंक ग्यारेण्टी पेस गरेपछि शुक्रबार कम्पनीसँग सम्झौता भएको जनाइएको छ । उहाँले भन्नुभयो, “केही सामान त आइनै सकेका छन्, बाँकी सामग्री एक हप्तामा आउला ।” उहाँले अत्यावश्यक स्वास्थ्य सामग्री, उपकरण, परीक्षण कीटको अभाव नहुनेगरी व्यवस्थापन गरिएको जानकारी दिनुभयो । गोरखापत्र अनलाईनबाट