Fri. Nov 22nd, 2024

लकडाउनमा भरियाका व्यथा : कोही खाना खोज्दै सडकमा, कोही भोकले छट्पटाउँदै  !

- कोरोनाको त्रासादी

रित्तिन लागेको चामलका भाँडा देखाउँदै खगेन्द्र परियारकी श्रीमती पुनमाया । २३ दिनदेखि अरुको घरमा खाना खाँदै आएका हस्तबहादुर दमाइ श्रीमतीसँग आफ्नो कोठामा । उनको कोठामा खाद्यान्न, भाँडाकुँडा ग्याँस केही छैन । तस्बिर : दीपेन्द्र ढुंगाना/नयँ पत्रिका

काठमाडौं , २०७७ बैशाक ६ गते शनिबार

कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न सरकारले पूरै देश लकडाउन गरेको शुक्रबार २५ दिन पुगेको छ । लकडाउनबाट सबैभन्दा बढी प्रभावित कोही छन् भने दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र भरिया हुन् । दिनभरि भारी नबोके भरियाको घरमा राति चुलो बल्दैन । यतिका दिनसम्म काठमाडौंका भरियाको दैनिक जीवन कसरी गुज्रिरहेको छ भन्ने विषयमा अहिलेसम्म राज्यले कुनै कदम चालेको देखिन्न । त्यति मात्र होइन, राजधानीमा हुने हरेक आन्दोलनमा यिनै भरियालाई सबै दलले प्रयोग गर्छन् । उनीहरूलाई नारा लगाउन सडकमा उतार्छन् । तर, यो विपत्को वेला राजनीतिक दलहरू मौन छन् ।

सधैँ व्यस्त हुने काठमाडौंको नयाँसडक अहिले सुनसान छ । सुनसान यी गल्लीका घरमा बस्ने भरियाहरू भने भोकमरीको चपेटामा परिसकेका छन् । संकटा मन्दिर छेउको घर, साँघुरो र अँध्यारो छिँडी छिचोल्दै गएपछि खगेन्द्र परियारको कोठामा पुगिन्छ । लकडाउन अगाडिसम्म परियारको जीवन र परिवार राम्रै चलेको थियो । दिनभर भारी बोकेर हुने ५–६ सय रुपैयाँ आम्दानीले घरखर्च चलेको थियो । छोराछोरी पढाउन र अन्य खर्च श्रीमती पुनमायाले घरमा काम गरेर जुटाएकै थिइन् । लकडाउनले परियारको जीवन धान्ने काम रोक्यो । गाँस खोस्यो । रित्तिन लागेको चामलको भाँडा देखाउँदै पुनमाया भन्छिन्, ‘यति हो चामल, यो खाएर कति दिन बाँचाैंला ?’

संकटा मन्दिर अगाडिको यो घरको तीनवटा तलामा भरिया परिवार बस्छन् । तला त भन्नु मात्र हो, एउटा कोठाको एक तला हो । ‘यही एउटा कोठाको पनि ६५ सय भाडा तिर्नुपर्छ,’ खगेन्द्र परियार भन्छन् ।

नयाँसडकमा बस्ने भरियाका ३५ परिवार छन् । यी ३५ परिवार सबैको समस्या एउटै छ, खाद्यान्न सकिनु । सिन्धुली दुधौली नगरपालिका डाँडाटोलबाट १७ वर्षअगाडि काठमाडौं आएर भरिया काम गर्न थालेका परियार भन्छन्, ‘बन्द भएको महिना दिन हुन लागिसक्यो, दिउँसो कमाए बेलुका खाने मान्छे हौँ, हामी त ।’

लकडाउनले उनीहरूको खाने माना खोसेको उद्धव परियार बताउँछन् । ५१ वर्षे उद्ध्वको परिवारमा चारजना छन् । श्रीमती अपांगता नभएको भए उद्धव हिँडेरै आफ्नो गाउँ सिन्धुली पुग्ने थिए । भन्छन्, ‘हिँडेर गाउँ जाउँ भने पनि श्रीमती अपांगता छे, कोठामा अन्नको दाना छैन, कसरी बाँच्नू ।’ उद्धवलाई आफ्नो भन्दा बढी पिर छोराछोरीको छ । ८ र ६ वर्षका दुई सन्तान छन् । ‘छोराछोरी भोकले मर्छन् होला हजुर,’ आँखाभरि आँसु पार्दै उद्ध्वले भने ।

लकडाउन लम्बिँदै जाँदा पसलेले दिन छाडे उधारो

लकडाउन लम्बिँदै गएपछि नयाँसडकका भरियालाई पसलेले उधारो दिन पनि बन्द गरेका छन् । मकवानपुरका श्याम किराना पसलेले उधारो दिन पनि बन्द गरेको सुनाउँछन् । ‘पहिलो हप्ता त उधारो दिएका थिए । अहिले त उधारो पनि दिन छाडे,’ उनले भने । खानाको समस्या त छँदै छ, सँगै भरियालाई अर्को समस्या कोठाभाडाको पनि छ । नयाँ महिना सुरु भएसँगै कोठाभाडा तिर्नुपर्छ । ‘खाने माना छैन, कोठाभाडा कताबाट तिर्ने,’ उद्धव भन्छन्, ‘घरबेटीले निकाल्यो भने सडकमा बसौँला ।’

मैते मोक्तानले काठमाडौंमा भारी बोक्न थालेको ३० वर्ष पुग्यो । आठजनाको परिवार छ, उनको । यति ठूलो परिवार मोक्तानकै आम्दानीले पालिन्छ । दुःख र अभावबीच पनि ठट्यौली गर्दै मैते भन्छन्, ‘सरकारी जागिर भएको भए त पेन्सन पाक्ने वेला भयो । अहिले त पिँजडामा परेको चराजस्तो भइएको छ । घरबेटीले भाडा माग्न थाले, पेटले अन्न माग्छ, कसरी पूर्ति गर्ने ?’

नागरिकता नभएकाले भरिया राहतबाट वञ्चित

काठमाडौं महानगरपालिकालगायत अन्य निजी क्षेत्रका संघसंस्थाले सहरका मजदुर र विपन्न वर्गका लागि राहत वितरण सुरु गरेका छन् । राहत वितरणमा नागरिकता खोजिन्छ । यी अधिकांश भरियासँँग नागरिकता छैन । ‘राहत दिनेहरूले नागरिकता माग्छन्,’ हस्तबहादुर दमाई भन्छन्, ‘हामीसँग त नागरिकता नै छैन ।’

लकडाउनको दोस्रोसाता काठमाडौं महानगरले राहत वितरण गरेको थाहा पाएपछि हस्तबहादुर राहत पाइने आशाले लाइनमा लागे । राहत पाउनु त कता हो कता उल्टै कर्मचारीको खप्की खाए हस्तबहादुरले । उनी भन्छन्, ‘नागरिकता छैन भनेर पाइँदैन, जेसुकै गर भन्यो ।’ हस्तबहादुरको कोठामा न ग्याँस छ, न भाँडाकुँडा छन् । खाद्यान्न त छँदै छैन । २३ दिनदेखि उनी आफूजस्तै भरियाको कोठामा खाना खाइरहेका छन् ।

राहत दिन नसके घर जाने व्यवस्था मिलाइदिन सरकारसँग आग्रह

कोठामा खाना सकिएपछि खाना खोज्दै भरियाहरू सडकमा पनि आएका छन् । १५ दिनदेखि खाना बाँडेको ठाउँ खोज्दै पेट भरिरहेका छन्, हेमबहादुर तामाङ । दोलखाका यी ६० वर्षे तामाङ लकडाउन भएपछि घर पनि जान पाएनन् । ‘घर जान सकिनँ, घर जानेलाई पुलिसले समाउँछ भन्यो,’ तामाङ सुनाउँछन्, ‘कोठामा चिउरा थियो दुई-चार दिनमा सकियो अनि खाना खोज्दै हिँड्छु ।’ खाना खोज्नकै लागि तामाङ बौद्धसम्म पुगे । ‘अस्तिसम्म त खाना नपाएर बौद्धतिर बाँडेको छ भन्ने थाहा पाएर त्यतै पुगेँ,’ उनले सुनाए ।

काठमाडौंमा सरकारले पाल्न नसके आफूहरूलाई घर जाने व्यवस्था गरिदिए हुन्थ्यो भन्छन्, उद्धव । ‘सरकारले यता पाल्न सक्दैन भने हामीलाई घर जाने व्यवस्था गरिदिए हुन्छ,’ सरकारसँग अनुरोध गर्दै उद्धव भन्छन् ।

आफूहरू आधा पेट मात्र खाएर बाँचिरहेको भन्दै मैते भन्छन्, ‘काम हुँदा पनि हाम्रो ज्यालाको ग्यारेन्टी थिएन, अब त हाम्रो जीवनको पनि ग्यारेन्टी नहुने भयो ।’ भरियाको चित्कार अँध्यारो छिँडीबाट बाहिर निस्कँदैन । निस्किहाले पनि कसैले सुन्दैन भन्छन्, बद्री अधिकारी । उनी भन्छन्, ‘आन्दोलनका वेला मात्र हामीलाई खोज्छन् । अरू वेला हाम्रो कसैलाई वास्ता हुँदैन ।’ भोकले मर्नुभन्दा त सडकमा आएर आन्दोलन गर्ने उनी बताउँछन् । भन्छन्, ‘भोकै मर्नुभन्दा त सडकमा आन्दोलन गरेर गोली खाएर मर्छाैँ ।’ नयाँ पत्रिका दैनिकबाट

Facebook Comments