Fri. Nov 1st, 2024

चिउरा र चाउचाउको भरमा चार सय किलोमिटर यात्रा

- भारतीय मजदुरको बिन्ती, ‘छोरा बित्यो, घर जान देऊ’

काठमाडौं , २०७७ बैशाक ६ गते शनिबार

पिठ्युँको झोलामा चिउरा, चाउचाउ र बोतलमा पानी। मजदुरको केही दिनको खान्की यही नै हो। पैदल हिँड्दै गर्दा बाटोमा कोही मनकारी भेटिएर दालभात खुवाए भने मात्र उनीहरुको पेट भरिनेछ। नत्र चिउरा, चाउचाउ र पानीको भरमा उनीहरुले झन्डै चारसय किलोमिटरको दूरी पार गर्नेछन्।

यस्तै खान्कीको भरमा गोरखाबाट मजदुरको एकहुल बर्दिया र कैलालीका लागि हिँड्यो। भूकम्प प्रभावित गोरखामा विभिन्न संरचना बनाउन आएका ती मजदुर कामविहीन भएको महिना दिन बितिसकेको थियो। भएको सामल सकिएको र खानेकुरा अभावमा भोकै पर्ने अवस्था देखेपछि घर फर्किन पाइला चाल्नु परेको मजदुरको भनाइ थियो। हिँडेर बर्दिया पुग्दा उनीहरुलाई कम्तीमा सात दिन लाग्नेछ। तर तीमध्ये अधिकांशसँग सात दिनका लागि पुग्ने खर्च पनि थिएन।

भूकम्पको केन्द्रविन्दु बारपाकमा खानेपानी र सिँचाइ कुलो बनाउने काम गर्दै आएका ती मजदुर बिहीबार गोरखाको नाका पार गरेर तनहुँ पुगेका छन्। उनीहरु वैशाख ३ गते लकडाउन खुल्ने आश गरेर बसेका थिए। तर लकडाउन नखुलेको र अझै अनिश्चित भएपछि उनीहरुले हिँडेरै घर पुग्न यात्रा सुरु गरेका हुन्।

‘एकमहिना काम नपाउँदा चामल सामल सकियो, अब के खाएर बस्ने’, बर्दियाका शिव चौधरीले भने, ‘लकडाउन कहिले खुल्ने भन्ने निश्चित भएन। कामको पनि टुंगो छैन। जसोतसो घर फर्किन सकियो भने परिवारसँगै बस्न त पाइन्छ।’ जे त होला भनेर बाटो तताएका उनीहरुलाई हिँडाइका क्रममा केकस्तो अप्ठेरो आउने हो भन्ने ज्ञान छैन। ‘हामी ११ जना छौं, सबैजना हिँडेर घर जान लागेका हौं, गाडी कहिले खुल्छ थाहा भएन,’ चौधरीले भने।

सडकमा फाट्टफुट्ट भेटिएका ट्रकले प्रहरीको डर भन्दै चढाउन नमानेको उनीहरुको गुनासो थियो। एक रात वा दिनमा गाडी चढेर बर्दियादेखि मजदुर गोरखा आएका थिए। तर अहिले हिँडेर जानुपर्दा उनीहरुलाई छोटो बाटो पनि थाहा छैन। ‘तैपनि कसैले दया गर्छ कि भनेर बाटो सोध्दै हिँडेका छौं’, चौधरीले भने।

गोरखाको सिरानचोक गाउँपालिकामा विद्यालय भवन निर्माणमा जुटेका कैलालीको जानकी गाउँपालिका–७ का ६१ मजदुर पनि हिँडेरै घर पुग्न निस्केका छन्। ‘काम बन्द भयो, अहिले हिँडेर जानुपर्ने बाध्यता आइलाग्यो,’ अर्का मजदुर नेत्रराम चौधरीले भने, ‘गाडीमा जान्छौं भन्दा पास दिइएन, अब हिँड्नुको विकल्प छैन। बाटोमा जे पर्ला पर्ला भनेर हिँडेका छौं।’ पिठ्युँमा बोरा र झोला बोकेर युवादेखि अधबैंसे उमेरका पुरुष चप्पल पड्काउँदै सडकमा हिँडिरहेको दृश्य कारुणिक देखिन्थ्यो। ‘पहाडमा त हिँडडुलमा सहज छ। अहिल्यै गर्मी पनि छैन। उकालो–ओरालो हिँड्दा छिटो दूरी तय हुन्छ,’ उनले भने, ‘तर तराई लागेपछि अप्ठेरो झनै बढी छ। समथर भूभागमा गर्मी खेप्नुपर्छ।’

विभिन्न जिल्लाबाट भित्रिएका मजदुर गोरखाका दुर्गम गाउँमा पुनःनिर्माणको काममा खटिएका छन्। बाँके, बर्दिया, बारा, कैलाली, कञ्चनपुरलगायत विभिन्न जिल्लाबाट मजदुर यहाँ आएका छन्। कोरोना त्रासले आकस्मिक भएको लकडाउनको मारमा तीन साता बिताएपछि विकल्प नदेखेर घरतिरको बाटो तताएको उनीहरुले बताए।

‘काम पनि बन्द भयो, घर परिवारको याद आयो, गाउँमा अरु हिँडेर पनि पुगेछन्, तिमी किन नआएको भन्दै सोध्न थाले, धेरै चिन्ता गरिरहने भएपछि हिँडेरै भए पनि जान लागेका हौं,’ गोरखादेखि बारा हिँडेका ओमप्रकाश शाहाले भने। ‘हामीलाई परेको पीडा ठूला मान्छेले भोग्नुपरेको भए थाहा हुन्थ्यो’, हिँड्दा परेको खुट्टाको ठेला देखाउँदै उनले भने, ‘नभोग्नेलाई सयौं किलोमिटर हिँड्नुपर्ने दुःख के थाहा ?’ सरकारले घर जाने व्यवस्था नगरिदिएको, पहिल्यै लकडाउन हुने समय यकिन नगर्दा दुःख पाएको गुनासो मजदुरको छ।

जिल्ला प्रशासन कार्यालय गोरखाले लकडाउनको पहिलो साता पासको व्यवस्था गरेर मजदुरलाई घर पठाएको थियो। तर अहिले भने बन्द छ। बाटोमा पैदल हिँडेका मजदुरलाई खाने बस्ने ब्यवस्था गरिदिने गोरखाका स्थानीय तहले बताए पनि उनीहरु घर जाने भन्दै बस्न मानेका छैनन्। ‘यहाँ नै बस्ने खाने व्यवस्था हुन्छ भन्दा पनि मान्नुभएन’, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भने, ‘हिँडेर घर जानेको जटिल समस्या र पीडा सम्बोधन गर्न सरकारको ध्यान पुग्नुपर्छ,हामीले मात्रै चाहेर गन्तव्यसम्म पु¥याउन सकिएन।’

यस्तै पोखराको लेकसाइडमा होटल भवन बनाइरहेका २६ मजदुर गत बुधबार दिउँसो बर्दिया जान पाइला चाले। पैदलै हिँडेर गृहजिल्ला पुग्ने लक्ष्यसहित निस्केका उनीहरुलाई संयोगवश प्रहरीले सघायो। सडकमा हिँडिरहेका उनीहरुलाई प्रहरीले ट्रकमा बुटवलसम्म पु¥याइदियो। त्यहाँबाट पनि हिँड्न थालेका उनीहरु प्रहरीकै सहयोगमा अर्को सवारीसाधनमा बर्दिया पुग्न पाए। ‘घर बनाउने काम गर्थे। कामविहीन भएको एक महिना बितिसकेको थियो,’ ठेकेदार जितेन्द्र शाहले भने, ‘अब कति दिनपछि लकडाउन खुल्छ भन्ने यकिन पनि भएन। लकडाउन लम्बिँदै गएपछि मजदुर झनै बढी आत्तिए।’

लकडाउनका कारण मजदुर निकै मारमा छन्। बुटवलदेखि हिँडेर पोखरा आउनेको पीडा पनि उस्तै छ। पायल चप्पलका भरमा गत सोमबार बुटवलबाट हिडेका केही मजदुर शुक्रबार बल्ल तनहुँको दुलेगौंडा आएका थिए। दुईजोर कपडा कोचेको झोला बोकेका उनीहरु थकित देखिन्थे। टोलीमा रहेका खोटाङ बुइँपाका मिलन कोइरालाले भने, ‘साहै्र कठिन यात्रा छ।’ पोखरा रामघाटमा दिदीको घरमा बस्नेगरी आएका उनले एकमुठी ‘परान’ मात्र बाँकी रहेको पीडा सुनाए।

पछिल्ला दिनमा पृथ्वीराजमार्गमा पैदलै घर फर्किनेको लर्को देखिन्छ। गण्डकी प्रदेशका विभिन्न जिल्लामा ज्याला मजदुरी गर्न आएका देशभरका मजदुर भोकै मर्नुपर्ने स्थिति आएकाले घर फर्कन बाध्य भएको बताउँछन्।

भारतीय मजदुरको बिन्ती, ‘छोरा बित्यो, घर जान देऊ’
देवेन्द्र बस्नेत
दाङ – घोराहीस्थित जयमनकामना इँटा उद्योेगमा कार्यरत भारत बाबागन्जका शोभाराम चौहानलाई १५ दिनअघि घरबाट फोन आयो, ‘तिमी छोराको बाबु बन्यौ।’ छोराको जन्म भएको खबरले औधी खुसी शोभारामले उद्योगमा कार्यरत मजदुरलाई ‘पाटी’ दिए। ‘चार वर्षकी छोरी छ,’ उनले नागरिकसँग भने, ‘दोस्रो सन्तानको रुपमा छोराको जन्म हुँदा धेरै खुसी भएँ।’

शोभारामको यो खुसी १० दिनभन्दा बढी टिक्न पाएन। फेरि घरबाट फोन आयो, ‘छोरा बित्यो।’ छोरा बितेको खबरले अत्यन्तै दुखित शोभाराम घर फर्किन चाहे। तर कोरोना संक्रमणको जोखिम हुन सक्ने भन्दै सरकारले गरेको लकडाउनका कारण उनी भारत छिर्न पाएनन्। ‘छोराको अनुहार पनि हेर्न पाइनँ,’ उनले भने, ‘घर जान्छु भनेर कोसिस गरें तर लकडाउनका कारण जान नपाइने भएपछि यहीं बसिरहेको छु।’

उनको छोरा बितेको ५ दिन भयो। छोरा गुम्नुको शोकमा शोभाराम निकै कमजोर बनिसकेका छन्। छिनछिनमा बेहोस भइरहन्छन्। उद्योगमा रहेका अन्य मजदुरले सम्झाइबुझाइ त गरिरहेकै छन् तर पनि छोरा गुम्दा मनभित्र दन्किएको पीडाको आगो निभ्न सकेको छैन। ‘के गरी सम्झाउने, जतिबेलै रुन्छन्,’ उद्योगको प्रशासनका कर्मचारी शिवकुमार पौडेलले भने, ‘खानासमेत खान मान्दैनन्।’

‘छोरा मरेको छ भन्दा पनि म जान पाइनँ,’ भावुक हुँदै शोभारामले भने, ‘मेरो परिवार पीडामा छ, मलाई केही गरी घरसम्म जान दिए त मन केही हल्का हुन्थ्यो।’ इँटा उद्योगका तर्फबाट उनलाई घर फर्काउन पहल भएको पनि हो तर भारतसँगको सीमामा गरिएको नाकाबन्दी र लकडाउनका कारण पहल सफल हुन पाएन।

छोराको निधनको शोक त छँदैछ, उता पत्नीको गिर्दो स्वास्थ्य अवस्थाले शोभाराम झनै चिन्तित छन्। सुत्केरी पत्नीको अवस्थाबारे सुनाउँदै उनले भने, ‘खोइ श्रीमतीलाई पनि भेट्न पाउँछु कि पाउँदिनँ।’ उनका अनुसार पत्नी पनि केही दिन यता थलिएकी छन्।

अर्को अप्रिय खवर सुन्नुपर्छ कि भन्ने त्रासमा छन् उनी। ‘श्रीमती राम्रोसँग बोल्न पनि सक्दिन रे,’ उनले भने, ‘बेहोस भैराख्ने गर्छे रे, छोरा त गयो, श्रीमती पनि गुम्ने हो कि भन्ने डर छ।’ आफू तत्कालै घर फर्कन सके अचेतावस्थामा रहेकी पत्नीको औषधिमुलो गर्न सक्ने उनी बताउँछन्। ‘मलाई केही गरी घर जान दिए  श्रीमतीलाई तजोगाउँथें होला,’ उनले भने, ‘मेरो श्रीमती पनि धेरै सिकिस्त छ, मसँग फोनमा बोल्न पनि सक्दिन।’

इँटा उद्योगमा काम गर्न माघमा शोभाराम दाङ आएका थिए। छोरा जन्मिएको खबरले औधी खुसी बनेका उनी केहि दिनमै घर फर्कने योजनामा थिए। तर लकडाउनका कारण छोराको निधन हुँदा समेत फर्किन पाएका छैनन्।

पाँच हजार भारतीय मजदुर अलपत्र

जिल्लाका इँटा उद्योगहरुमा काम गर्ने झन्डै ५ हजार भारतीय मजदुर लकडाउनका कारण अलपत्र परेका छन्। लकडाउनका कारण उद्योगको काम ठप्प छ।

कामै रोकिएपछि उनीहरुको रोजीरोटी नै खोसिने अवस्थामा छ। अहिलेसम्म जेनतेन उद्योग प्रशासनले खानपानको व्यवस्थापन गरेको भए पनि अबको केही दिनमै त्यो पनि नरहने उद्योगहरुले जनाइसकेका छन्। मजदुर जति सक्यो चाँडै घर फर्कन चाहन्छन्। ‘खाने अन्न सकिइसक्यो, उद्योग बन्द भइसके, हाम्रो आम्दानी पनि छैन,’ घोराही नारायणपुरस्थित इँटा उद्योगमा कार्यरत मजदुर विश्वनाथ चौहानले भने, ‘हामी जति सक्यो चाँडो घर फर्कन चाहन्छौं।’

लकडाउनको अवधि लम्बिँदै जान थालेपछि समस्या बढ्दै गएको उनीहरुको भनाई छ। ‘केही दिनमात्रै बन्द होला भनेको, लम्बिँदै जान थाल्यो, खान पनि नपाउने अवस्था भइसक्यो,’ मजदुर सुनीता चौहानले भनिन्, ‘केटाकेटीलाई समेत साथमा लिएर उद्योगमा काम गर्न आएका छौं, खाने व्यवस्था नै नभएपछि बच्चाबच्चीको बिचल्ली भएको छ।’

इँटा उद्योगमा ठूलो संख्यामा भारतीय मजदुर रहेकाले गाउँमा समेत उनीहरुका कारण कोरोना संक्रमणको जोखिम बढेको स्थानीय वताउँछन् ‘यहाँ रहेका मजदुर बाहिर खुलारुपमा हिँडिरहन्छन्, यसले गाउँमा थप त्रास फैलिएको छ,’ नारायणपुर बडहराका देवराज लामीछानेले भने, ‘यी मजदुरलाई सरकारले जति सक्यो चाँडो घर फर्कने व्यवस्था मिलाइदिए धेरै राम्रो हुने थियो।’

इँटा व्यवसायी समितिका अनुसार एउटा उद्योगमा दुई सयभन्दा बढी मजदुर छन्। तीमध्ये अधिकांश भारतीय हुन्। उद्योगको कामसमेत रोकिएकाले उनीहरुको रोजीरोटीसमेत खोसिने अवस्थामा पुगिसकेको छ। ‘अहिलेसम्म हामीले मजदुरहरुको खानपानको व्यवस्थापन गरिरहेका छौं,’ समितिका अध्यक्ष रोम ओलीले भने, ‘लम्बिँदो लकडाउनका कारण यति ठूलो संख्यामा रहेका मजदुरलाई खानपानको व्यवस्थापन गर्न ठूलो चुनौती बनिरहेको छ, यसर्थ यी मजदुरलाई जतिसक्यो चाँडो घर फर्कने व्यवस्थापन गरिदिए धेरै राम्रो हुने थियो।’

उद्योगमा अलपत्र परेका यी मजदुरलाई आफ्नै लगानीमा घर फर्काउने समेत व्यवसायीको भनाइ छ। ‘उद्योगको काम रोकिएपछि मजदुरको अवस्था धेरै नाजुक बनिसकेको छ,’ अर्का व्यवसायी किरण रेग्मीले भने, ‘यो समस्याबाट उनीहरुलाई राज्यले मुक्त गराउने पहल कदमी लिइदेओस्, हामी उनीहरुलाई घरसम्म पुर्याउने सम्पूर्ण जिम्मेवारी लिन्छौं।’ नागरिक न्यूज अनलाईनबाट

Facebook Comments