नेपालको बाह्य सम्बन्ध १ सय ८२ देशमा विस्तार
काठमाण्डू, २०८० फागुन १९ गते शनिबार । नेपालले टोङ्गा अधिराज्यसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । योसँगै नेपालको बाह्य सम्बन्ध एक सय ८२ देशमा विस्तार भएको छ ।
कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी दस्तावेजमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र सोही विश्व संस्थाका निम्ति टोङ्गाका स्थायी प्रतिनिधि भिलिमी भ्याइङ्गा टोनेले हस्ताक्षर गर्नुभएको हो । नेपाल र टोङ्गाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसलाई प्रदान गरिने पत्रमा पनि उहाँहरुले हस्ताक्षर गर्नुभएको छ ।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा आज बिहान आयोजित एक कार्यक्रममा दुवै देशका स्थायी प्रतिनिधिले उक्त दस्तावेजमा हस्ताक्षर गर्नुभएको उक्त नियोगले जनाएको छ ।
त्यस अवसरमा दुवै देशका राजदूतले पारस्परिक सहयोग, द्विपक्षीय सम्बन्ध विस्तारका साथै क्षेत्रीय तथा अन्तरराष्ट्रिय मञ्चहरुमा सहयोग एवं साझेदारी प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
टोङ्गाले १४ सेप्टेम्बर १९९९ मा संयुक्त राष्ट्रसङ्घको सदस्यता प्राप्त गरेको हो । नेपाल र टोङ्गा ग्रुप ७७ र चीनका सदस्य हुन् । रासस