Wed. Dec 25th, 2024

प्रसूतिगृहबाट नवजात शिशु चोरी गर्ने महिला सार्वजनिक  

काठमाण्डू, २०८० फागुन १२ गते शनिबार । काठमाण्डूको थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्री रोग अस्पतालबाट शुक्रबार नवजात शिशु चोरी गर्ने महिलालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

शिशु चोरीमा संलग्न दैलेख नौमूले गाउँपालिका–१ घर भई हाल काठमाण्डू काँडाघारी बस्ने २४ वर्षीया मनकुमारी सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले शुक्रबार राति निज बस्ने कोठाबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

चोरी गरिएकी शिशुलाई उद्धारपछि आफन्तको जिम्मा लगाई अहिले काठमाण्डू मेडिकल कलेज सिनामङ्गलमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डूले जनाएको छ । उक्त घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रवक्ता एवं प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–३ घर भई हाल काठमाण्डूको कपन बस्दै आएकी २२ वर्षीया सविना श्रेष्ठले शुक्रबार दिउँसो प्रसूतिगृहबाट २६ दिनको आफ्नो शिशु चोरी भएको भन्दै प्रहरीलाई सूचना दिएलगत्तै प्रहरीले खोजी सुरु गरेको थियो । रासस

Facebook Comments