Mon. May 13th, 2024

रुस-युक्रेन युद्धको दुई वर्ष पूरा

युक्रेन (किएभ), काठमाण्डू, २०८० फागुन १२ गते शनिबार । रुस र युक्रेनबीच युद्ध शुरु भएको आज दुई वर्ष पूरा भएको छ । रूसले सन् २०२२ को फेब्रुअरी २४ तारिखमा युक्रेनमा आफ्नो विशेष सैन्य कारबाही शुरु गरेको थियो ।

तर अझै पनि दुई देशबीचको लडाइँ रोकिने सम्भावना देखिएको छैन । किएभले आफ्नो अन्तर्राष्ट्रिय सीमा पुनस्थापित गर्न लडाइँ निरन्तर चलिरहने जनाएको छ । त्यस्तै मस्को पनि आफ्नो लक्ष्य प्राप्त नभएसम्म पछि नहट्ने अडानमा छ । रुसले युक्रेनको झण्डै १८ प्रतिशत भूभाग नियन्त्रणमा लिएको छ ।

यसमध्ये क्राइमिया प्रायद्वीपलाई उसले सन् २०१४ मा आफ्नो देशमा गाभेको थियो र डोनेट्स्क र लुहान्स्कलाई पनि त्यसबेला नै कब्जा गरेको थियो । युक्रेनले रुससँगको लडाइँका लागि ठूलो मात्रामा सैन्य, आर्थिक तथा मानवीय सहयोग प्राप्त गर्दै आएको छ । पश्चिमले दिएका ट्याङ्क, हवाई सुरक्षा उपकरण र लामो दुरीसम्म प्रहार गर्न सक्ने तोपहरूले युद्धमा युक्रेनलाई धेरै सघाएका छन् ।

रुसलाई छिमेकी बेलारुसले आफ्नो भूमि र हवाई क्षेत्र प्रयोग गर्न दिइ समर्थन गरिरहेको छ । चीनले युक्रेनमाथि रूसको आक्रमणको निन्दा गरेको छैन तर रूसलाई सैन्य समर्थन पनि नगरेको विभिन्न आधारमा बीबीसीले विश्लेषण गरेको छ । यसैबीच रुसी सेनाका लागि आफ्ना नागरिकहरू भर्ती भएको भारतले पुष्टि गरेको छ ।

भारतीय विदेश मन्त्रालयले केही आफ्ना नागरिक रुसी सेनासँग ‘सहायक नोकरी’ का लागि भर्ती भएको पुष्टि गरेको हो । रुसी सेनामा भर्ना भएकामध्ये अहिलेसम्म कम्तीमा १२ जना नेपालीको ज्यान गएको छ । पाँच जना युक्रेनी सेनाको कब्जामा छन् । रुसी सेनामा भर्ना भएका १ सय ४० जना नेपालीका आफन्तले उद्धारका लागि निवेदन दिएका छन् ।

यसबाहेक के-कति सङ्ख्यामा नेपाली नागरिक रुसी सेनामा भर्ना भएका, घाइते वा हराएका छन् भन्ने विवरण नेपाल सरकारसँग छैन । बीबीसी

Facebook Comments