Thu. May 2nd, 2024

दुई छोरी र पत्नीको हत्यापछि आत्महत्या

भिओके समाचार/काठमाण्डू, २०८० फागुन ९ गते बुधबार । काठमाण्डूको सीतापाइलामा दुई छोरीसहित कोठामै मृत भेटिएकी महिलाका पति पनि नजिकैको जङ्गलमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

प्रहरीका अनुसार आज बिहान आठ वर्षीया र दुई वर्षीया बालिका र झण्डै ३८ वर्षकी महिला कोठामै मृत भेटिएका थिए । अनुसन्धानका क्रममा ती महिलाका पति सोलुखुम्बुको दूधकुण्ड नगरपालिका घर भई नागार्जुन नगरपालिका-६ बस्ने राजु घिमिरे भन्ने काजी विक पनि मृत भेटिएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “परिवारका सदस्यहरुको हत्या गरेपछि उनले आत्महत्या गरेको प्रारम्भिक अनुमान छ । यसै विषयमा केन्द्रित रही प्रहरीले अनुसन्धान थालिसकेको छ ।” घटना आज विहानको हो । विहान साढे नौ बजेपछि कोठाभित्र शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसको केही समयपछि विक पनि घरभन्दा केही परको जङ्गलमा झुण्डिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा आउँदा उनको मृत्यु भइसकेको थियो ।

श्रीमती र छाेरीहरूकाे हत्या गरिसकेपछि उनले आत्महत्या गरेको प्रहरीले अनुमान गरेकाे छ । दैनिक ज्यालादारी गरेर उनीहरूले जिविकाेपार्जन गर्ने गरेका थिए । यद्धपी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार विकले बिहानै सालाेलाई फाेन गरेर आफूले सबैलाई मारेकाे र अब आफू पनि मर्ने बताएका थिए  ।

Facebook Comments