Fri. May 10th, 2024

राष्ट्रिय प्रजातन्त्र दिवस आज भव्य रुपमा मनाइँदै

काठमाण्डू, २०८० फागुन ७ गते सोमबार । चौहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

यस उपलक्ष्यमा आज टुँडिखेलमा आयोजना गरिने विशेष कार्यक्रममा विशिष्ट व्यक्तित्वको उपस्थिति रहने जनाइएको छ । विक्रम संवत् २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहानियाँ राणा शासन अन्त्य भई नेपालमा प्रजातन्त्र स्थापना भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो ।

वि.सं. २००८ पछि मूल समारोह समितिद्वारा सैनिक मञ्चमा विशेष समारोह आयोजना गर्न थालिएको हो । यस अवसरमा विभिन्न संघ संस्थाले पनि कार्यक्रम आयोजना गर्दै आएका छन् ।

सरकारले फागुन ६, ७ र ८ गते तीन दिनसम्म विशेषरुपमा दिवस मनाउन आह्वान गरेको छ । तीन दिनसम्म साँझ दीपावली पनि गरिनेछ । प्रजातन्त्र दिवसलाई वि.सं. २०४६, २०६३ र २०६५ का परिवर्तनको जगका रुपमा सम्झना गरी विभिन्न कार्यक्रम आयोजना गरिन्छ । प्रजातन्त्र दिवसकै जगमा करिब ७० वर्षपछि संविधानसभाबाट संविधान जारी भएकाले पनि यो दिवसको विशेष महत्व रहेको छ ।

Facebook Comments