Sat. Apr 27th, 2024

एक लाख ६१ हजार बालबालिकालाई दादुरा-रुवेलाको खोप दिइँदै

काठमाण्डू, २०८० फागुन ६ गते आईतबार । एक लाख ६१ हजार बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइने भएको छ । नौ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई खोप लगाउन लागिएको हो ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार सात सय खोप केन्द्रबाट उनीहरुलाई खोप दिन लागिएको कार्यालयका क्षय-कुष्ठ अधिकृत जयराम दुवाडीले जानकारी दिनुभयो । उहाँका अनुसार अभियानकै क्रममा नियमित खोप छुटेका आठ सय हाराहारीका बालबालिकालाई छुट खोप दिइने छ ।

यही फागुन १३ गतेदेखि चैत १ गतेसम्म सञ्चालन हुने उक्त अभियानमा एक हजार छ सय स्वास्थ्यकर्मी र दुई हजार दुई सय स्वंयसेवक परिचालन गरिने छ । स्वास्थ्य कार्यालय चितवनले अभियानलाई दुई चरणमा विभाजन गरेर सञ्चालन गर्न लागेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपािलकामा १३ गते देखि २२ गते सम्म अभियान सञ्चालन हुने छ ।

अन्यमा राप्ती खैरहनी, रत्ननगर र कालिका नगरपालिकामा भने दोस्रो चरणमा फागुन २३ गतेदेखि चैत १ गतेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ । प्रत्येक दिन ६ घण्टा खोप सञ्चालन गरिने छ ।

जिल्लामा विसं २०७९ मङ्सिर ३ गते देखि २०८० पुस १५ गते सम्म ५२ जनामा दादुरा रुवेला रोगको सङ्क्रमण देखिएको छ । जिल्लामा भेटिएका सङ्क्रमितमध्ये अधिकांश इच्छाकामना गाउँपालिकाका रहेका रहेका छन् ।

केही सङ्ख्यामा राप्ती नगरपालिकामासमेत यो रोगको सङ्क्रमण रहेको दुवाडीले बताउनुभयो । गर्भवती, एड्स सङ्क्रमित, केमोथेरापी वा उच्च क्षमताको औषधि सेवन गरिरहेका र कडा खालको ज्वरो भएका बालबालिकालाई यो खोप लगाउन मिल्दैन । दुई सय ५० जनाभन्दा बढी बालबालिका भएका संस्थागत र सामुदायिक विद्यालयमा खोप केन्द्र रहने कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिनुभयो । विद्यालय नभएका ठाउँमा पनि खोप केन्द्र रहने छन् ।

यसैगरी सहरका घना बस्ती, सुकुम्बासी बस्ती, उद्योग, कारखाना, बालमन्दिर, अनाथ आश्रम, इँटाभट्टा, अन्तरदेशीय सीमा, बसपार्क जस्ता ठाउँमा पनि खोप केन्द्र राखेर सेवा दिइने उहाँले जानकारी दिनुभयो ।

खोप केन्द्र निर्धारण गर्दा गाउँपालिकाको प्रत्येक वडामा कम्तीमा एउटा, नगरपालिकाको प्रत्येक वडामा कम्तीमा दुई वटा, उपमहानगरपालिकाको प्रत्येक वडामा कम्तीमा तीन वटा र महानगरपालिकाका प्रत्येक वडामा कम्तीमा चार वटा खोप केन्द्र रहने व्यवस्था रहेको छ । अभियानको क्रममा नौ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई दादुरा–रुबेला खोपका अतिरिक्त डिपिटि–हेप बी–हिव, पिसिभी र आईपिभि खोप लगाइने छ ।

दादुरा रुबेला खोप अभियानको लक्ष्य लक्षित उमेरका बालबालिकालाई दादुरा रुबेला खोप लगाएर दादुरा र रुबेला रोगविरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गरी ती रोगबाट सङ्क्रमण हुनसक्ने सम्भावनालाई न्यूनीकरण गर्ने रहेको उहाँको भनाइ छ । पाँच वर्ष मुनिका बालबालिकाको नियमित खोपको अवस्था पहिचान गरेर छुट भएका नियमित खोपको मात्रा लगाउन सहजीकरण गर्ने अभियानको उद्देश्य रहेको छ । रासस

Facebook Comments