Sun. May 19th, 2024

‘पत्रकारिताको प्रबर्द्धनबिना लोकतन्त्र स्थायी हुँदैन’

जनकपुरधाम । मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले निष्पक्ष पत्रकारिता लोकतन्त्रको मेरुदण्ड हो भन्दै पत्रकारिता क्षेत्रको प्रबर्द्धनबाटै लोकतन्त्र स्थायी बताउनु भएको छ ।

राष्ट्रिय समाचार समितिको ६३ औँ वार्षिकोत्सवका अवसरमा जनकपुरधाममा आज सम्पन्न’सङ्घीयतामा पत्रकारिता र रासस’ विषयक विचार गोष्ठीमा सभामुख मण्डलले पत्रकारिताको संस्थागत विकासका लागि राज्यका सबै निकायको सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

“राज्यपक्ष पत्रकारिताको संस्थागत विकासमा सहयोगी बन्नपर्छ,” मण्डलले भन्नुभयो, “अनि पत्रकारको भूमिका समाज सुधार र जनतालाई उत्प्रेरित गर्ने हुनपर्छ ।” पछिल्लो समय सञ्चार माध्यम र सामाजिक सञ्जालमा पत्रकारले पस्कदै आएका सामग्रीले कतिपय सन्दर्भमा जनतामा निरासा र कुण्ठा भर्ने काम गरेको मण्डलले टिप्पणी पनि गर्नुभयो ।

“तपाईंहरका कामले जनतामा आशा जगाउनुुपर्छ, राज्यसम्बद्ध निकायमा देखिने बेथितिको अन्दाजमा हैन, तथ्यपरक तथा खोजमूलक सूचना दिनपर्छ,’’ उहाँले भन्नुभयो ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले राससलाई जनकपुरधामबाट मैथिली भाषाको समाचार सेवा दिन आवश्यक संसाधन जुटाउन सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो ।

नगरप्रमुख साहले राससबाट मैथिली भाषामा समाचार सेवा सुरु गर्न रासससँग उपमहानगरले सैद्धान्तिक सहमति गरिसकेकाले अब चाँडै त्यसलाई अन्तिमरूप दिइने बताउनुभयो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले पत्रकारले हतारमा समाचार सम्पे्रषण गर्ने दौडमा सत्यतथ्यलाई बिर्सन नहुनेमा जोड दिनुभयो ।

मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार सीताराम अग्रहरि, मधेश आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रिङ्कु गायत्री मिश्र र धनुषा शाखा अध्यक्ष मोनिका झासहितका वक्ताले शुभकामना दिनुभयो ।

रासस मधेश प्रदेश कार्यालयका प्रमुख टिकाराम सुनारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।रासस

Facebook Comments