Mon. Apr 29th, 2024

कन्फ्युसियस इन्स्टिच्युटद्वारा चिनियाँ नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम

वाङ सिन, काउन्सिलर, चिनियाँ राजदूतवास

रमेश हतुवाली/काठमाण्डू, २०८० फागुन ५ गते शनिबार । त्रिभूवन विश्व विद्यालय अन्तरगतको कन्फ्युसियस इन्स्टिच्युटले चिनियाँ नयाँँ वर्षको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।

काठमाण्डूको ठमेलमा आयोजना गरिएको सो कार्यक्रममा नेपालस्थित चिनियाँ राजदूतावासका पदाधिकारीहरु, त्रिभूवन विश्व विद्यालयका प्रोफेसर तथा विद्यार्थीहरु, कन्फ्युसियस इन्स्टिच्युटका शिक्षक तथा विद्यार्थीहरु, नेपाल स्थित विभिन्न मैत्री संस्थाका पदाधिकारीहरु, पर्यटन व्यवसायी, नेपालमा विभिन्न व्यवसाय गरी बसेका चिनियाँ नागरिक लगायतका महानुभावहरुको उपस्थिती रहेको थियो ।

शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपालस्थित चिनियाँ राजदूतावासका काउन्सिलर वाङ सिन ले चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा काठमाण्डू उपत्यकाका विभिन्न भागहरुमा आयोजना गरिएका कार्यक्रमहरुमा नेपाल सरकार, नेपाल पर्यटन बोर्ड र नेपाली नागरिकहरुले देखाउनु भएको साथ र सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो । काउन्सिलर वाङ सिन ले यस वर्ष नयाँ चीन स्थापनाको ७५ वर्ष पुरा हुने र आउने वर्ष नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सव पर्ने जानकारी दिनुहुँदै यी ऐतिहासिक मोडहरुमा चीन र नेपालबीच विकासका नयाँ अवसरहरु प्राप्त हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

लीलामणि पौड्याल, पूर्वमुख्य सचिव, नेपाल सरकार

नेपाल सरकारका पूर्वमुख्य सचिव तथा चीनका लागि पूर्व नेपाली राजदूत लीलामणि पौड्यालले चिनियाँ नयाँ वर्ष बसन्त चाडको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुहुँदै यस्ता कार्यक्रमहरुको माध्यमबाट जनस्तरमा एकअर्का देशको संस्कृति बुझ्न र आदान प्रदान गर्न मद्दत पुग्ने बताउनु भयो ।

भारगव धिताल, रिक्टर, त्रिभूवन विश्व विद्यालय

कार्यक्रममा बोल्नुहुँदै त्रिभूवन विश्व विद्यालयका रिक्टर भारगव धितालले चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुहुँदै नेपाल र चीनबीच ऐतिहासिक कालदेखि नै प्रगाढ सम्बन्ध रहँदै आएको बताउनु भयो । रिक्टर धितालले दुवै देशले एकअर्का देशको सार्वभौमिकता र स्वतन्त्रतालाई मान्यता दिँदै आएको प्रसंग उल्लेख गर्नुहुँदै आउदा दिनहरुमा नेपाल र चीनबीचको शैक्षिक तथा साँस्कृति आदान प्रदान अझ विकसित हुने विश्वास व्यक्त गर्नुभयो ।

प्राध्यापक डाक्टर बालमुकुन्द रेग्मी, नेपाली निर्देशक, कन्फ्युसियस इन्स्टिच्युट, त्रिवि

शुभकामना आदान प्रदान गर्नुहुँदै कार्यक्रम आयोजक संस्था त्रिभूवन विश्व विद्यालय कन्फ्युसियस इन्स्टिच्युटका नेपाली निर्देशक प्राध्यापक डाक्टर बालमुकुन्द रेग्मीले चिनियाँ नयाँ वर्ष बसन्त चाडलाई संयुक्त राष्ट्र संघले विश्वकै साँस्कृतिक सम्पदाको मान्यता प्रदान गरेको प्रसंग उठाउनुहुँदै नेपाल र चीन भाषा र संस्कृतिको माध्यमबाट जोडिएको बताउनु भयो ।

सिन लुकाओ, चिनियाँ निर्देशक, कन्फ्युसियस इन्स्टिच्युट, त्रिभूवन विश्व विद्यालय

त्रिभूवन विश्व विद्यालय कन्फ्युसियस इन्स्टिच्युटका चिनियाँ निर्देशक सिन लुकाओ ले स्वागत मन्तब्य व्यक्त गर्नुभएको सो समारोहमा कन्फ्युसियस इन्स्टिच्युटका शिक्षक तथा विद्यार्थीहरुले सुमधुर नेपाली र चिनियाँ गीत, नृत्य, कविता प्रस्तुत गरेका थिए । कार्यक्रमका सहभागीहरुले यस्ता समारोहले छिमेकी देशको भाषा, संस्कृति र जनजीवन बुझ्न सहयोग पुग्ने प्रतिक्रिया दिएका छन् ।

फोटो : रमेश हतुवाली

Facebook Comments