Fri. May 17th, 2024

निर्वाचनको पूर्वसन्ध्यामा विस्फोटमा परी पाकिस्तानमा १२ जनाको मृत्यु

क्वेटा, पाकिस्तान, २०८० माघ २४ गते बुधबार । दक्षिणपश्चिमी पाकिस्तानमा एक चुनावी उम्मेदवारको कार्यालय बाहिर बुधबार भएको विस्फोटमा परी कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका छन् ।

क्वेटा शहरबाट करिब ५० किलोमिटर टाढा र अफगानिस्तानसँगको सीमाबाट करिब १०० किलोमिटर टाढा रहेको पिशिन जिल्लामा एक स्वतन्त्र उम्मेदवारको कार्यालय नजिकै आक्रमण भएको थियो ।

क्वेटाका एक प्रहरी अधिकारीले नाम नबताउने शर्तमा एएफपीसँग भने, “१२ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।”

“प्रारम्भिक अनुसन्धानले मोटर साइकलमा राखिएको विस्फोटक पदार्थ विस्फोट भएको देखिएको छ,” उहाँले भन्नुभयो ।

प्रान्तका कार्यवाहक सूचनामन्त्री जान अचकजाईले मृतकको सङ्ख्या पुष्टि गर्दै भन्नुभयो, “यो विस्फोटमा १२ जनाको मृत्यु भएको छ र २५ भन्दा बढी घाइते भएका छन् ।”

निर्वाचनका लागि ५० लाखभन्दा बढी सुरक्षाकर्मी बुधबारदेखि तैनाथ हुन थालेका छन् भने ९० हजारभन्दा बढी मतदान केन्द्रमा मतपत्र वितरण गरिएको छ ।

सन् २०१८ को चुनावपछि स्थापित बहुमतको सरकारका प्रधानमन्त्री इमरान खानलाई चार बर्षपछि अविश्वासको प्रस्तावमार्फत् सत्ताबाट पदच्युत गरिएको थियो । पाकिस्तानी प्रधानमन्त्रीबाट हटाइनुभएका र हाल जेलमा रहेका पूर्वप्रधानमन्त्री खानको पार्टी तथा नेताहरूलाई विभिन्न अभियोग लगाउँदै निर्वाचनमा सहभागी हुनबाट रोक लगाइएको छ ।

बिहीबारको मतदानको दौडान धेरै सुरक्षा घटनाहरू पनि भएका छन्, जसमा कम्तिमा दुई उम्मेदवारहरूको गोली हानी हत्या भएकोे छ र दर्जनौंलाई देशभरि आक्रमणहरूमा निशाना बनाइएको छ ।

स्थानीय समयअनुसार बिहीबार बिहान ८  बजे मतदान शुरु भई साँझ ५ः०० बजे मतदान सम्पन्न हुनेछ ।

लाहोरमा, निर्वाचन अधिकारीहरूको एक समूहले प्रहरीको साथमा मतदान सामग्रीहरूको बोराहरू केन्द्रीय वितरण केन्द्रबाट उनीहरूको मतदान केन्द्रहरूमा लैजानको लागि सङ्कलन गरेको देखिएको थियो ।

“निर्वाचन आयोगले आफ्नो एप स्थापना गरेको छ र अन्य निर्वाचनलाई व्यवस्थित गर्न उपायहरू अपनाएको छ”, मतदान सामग्री सङ्कलन गर्ने इलेक्ट्रोनिक जाँचलाई सङ्केत गर्दै मोहम्मद बकिरले भन्नुभयो, “काम सहज रुपमा भइरहेको छ ।”

करिब २४ करोड जनसङ्ख्या भएको विश्वको पाँचौं ठूलो देशमा करिब १२ करोड ८० लाख मतदाताले मतदान गर्न पाउनेछन् ।

राष्ट्रिय र चार वटा प्रान्तीय सभाका लागि करिब १८ हजार उम्मेदवार चुनावी मैदानमा छन्, जसमा २६६ सिटमा प्रत्यक्ष प्रतिस्पर्धा भएको छ । यसमध्ये महिला र अल्पसङ्ख्यकका लागि थप ७० र क्षेत्रीय संसद्मा ७४९ स्थानका लागि प्रतिस्पर्धा भइरहेको छ ।

सिन्ध प्रान्तका प्रहरी प्रमुख रफत मुख्तारले बुधबार कराँचीमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “हामीले हरेक तहमा सुरक्षा व्यवस्था सुनिश्चित गर्नुपर्छ ।” एएफपी

Facebook Comments