Thu. May 2nd, 2024

भोजपुरमा प्रदेश स्तरीय भलिबल

टक्सार (भोजपुर), २०८० माघ २४ गते बुधबार । ‘सुन्दर प्रकृति र स्वर्गरुपी मेरो देश, खेलकुदमार्फत पर्यटनको सन्देश’ नाराका साथ आजदेखि भोजपुरमा कोशी प्रदेश अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । षडानन्द नगरपालिकाको केन्द्र दिङ्लामा प्रतियोगिताका खेलहरु सञ्चालन भइरहेका छन् ।

उद्घाटनको दिन आज आयोजक जिल्ला खेलकुद विकास समिति र जनप्रतिनिधिको टोलीबीच मैत्रीपूर्ण खेल खेलाइएको थियो । उक्त खेलमा खेलकुद विकास समितिले जनप्रतिनिधिको टोलीलाई २-० सेटले पराजित गरेको छ । त्यसअघि उक्त प्रतियोगिताको उद्घाटन कोशी प्रदेशसभा सदस्य विनोद बान्तवाले गर्नुभएको थियो ।

प्रतियोगितामा भोजपुरको षडानन्द नगरपालिका, आमचोक गाउँपालिका र साल्पासिलिछो गाउँपालिका, मोरङको बेलवारी नगरपालिका, भोजपुर नगरपालिका र टेम्केमैयुङ गाउँपालिका तथा झापाको दमक नगरपालिका र रामप्रसाद राई गाउँपालिका सहभागी रहेका आयोजक समितिका प्रमुख गेल्जेन शेर्पाले जानकारी दिनुभयो । प्रतियोगिता यही माघ २७ गतेसम्म सञ्चालन हुनेछ । पहिलो हुने टोलीले रु. एक लाख ५० हजार, दोस्रोले रु एक लाख तथा तेस्रो हुनेले रु ५० हजार पुरस्कार प्राप्त गर्नेछन् ।रासस

Facebook Comments