साहित्यिक कृतिहरुको अनुवाद मार्फत नेपाल-चीन सम्बन्ध जोड्न विज्ञहरु एकमत
रमेश हतुवाली/ काठमाण्डू, २०८० माघ १५ गते सोमबार । नेपाल प्रज्ञा-प्रतिष्ठान, अरनिको समाज र विश्व चीनशास्त्र केन्द्र (पेइचिङ)का विज्ञहरुले काठमाण्डूमा साहित्यिक अन्तरक्रिया सम्पन्न गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हिजो सोमबार सम्पन्न सो अन्तरक्रियामा प्रतिष्ठानका कुलपति भूपाल राई, अरनिको समाजका प्रथम उपाध्यक्ष डाक्टर सर्वोत्तम श्रेष्ठ र चीन अल्पसंख्यक जातीय साहित्य अध्ययन संस्थाका उपाध्यक्ष तथा चीन चलचित्र संघका उपमहासचिव चाउ यान्पियाउको नेतृत्वमा रहेका विज्ञहरुले भाग लिनुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले अनुवादको माध्यमबाट मात्रै कुनै पनि देशको भाषा, साहित्य, संस्कृति र भूगोललाई बुझ्न सकिने बताउनु भयो । नेपाल र चीनबीचको सम्बन्ध जनस्तरसम्म फैलिरहेको अवस्थामा चिनियाँ साहित्यलाई नेपाली भाषामा र नेपाली साहित्यलाई चिनियाँ भाषामा अनुवाद गरेर अघि बढ्नुपर्नेमा राईले जोड दिनुभयो । विश्वव्यापी प्रभावबाट नेपाली साहित्य जस्तै चिनियाँ साहित्य पनि प्रभावित भएको भन्दै कुलपति राईले नेपाली साहित्य र चिनियाँ साहित्यको प्रवृत्ति कतिपय मिल्दोजुल्दो रहेको पनि बताउनु भयो ।
अन्तरक्रिया कार्यक्रमको उद्वेश्यबारे प्रकाश पार्नुहुँदै अरनिको समाजका प्रथम उपाध्यक्ष डाक्टर सर्वोत्तम श्रेष्ठले नेपाल र चीनका साहित्यकार तथा लेखहरुबीच समय समयमा विचारको अदान प्रदान हुँँदै आएकोमा यस पटक पनि सोहि परम्परालाई निरन्तरता दिँदै वलदिँलो समयअनुसार दुवै देशका विज्ञहरुले हासिल गरेको अनुभव साटासाट गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । साथै डा.श्रेष्ठले अनुवाद कार्य आफैँमा गाह्रो काम भएको र कुनै पनि भाषाको अनुवादलाई कुशलतापूर्वक गर्न सक्नुपर्नेमा जोडदिनुहुँदै सम्बन्धित भाषासँग जोडिएका देश, साहित्य, संस्कृति र समाजलाई बुझ्न अनुवादको महत्वपूर्ण भूमिका हुने बताउनु भयो ।
अन्तरक्रियामा बोल्नुहुँदै चीन अल्पसंख्यक जातीय साहित्य अध्ययन संस्थाका उपाध्यक्ष तथा चीन चलचित्र संघका उपमहासचिव चाउ यान्पियाउले हिमालय चाइना फोरमको कार्यक्रममा भाग लिन नेपाल आइपुगेको जानकारी दिनुहुँदै नेपाली भाषा, साहित्य र संस्कृतिका बारेमा बुझ्ने अवसर प्राप्त भएकोमा आफूलाई गौरवको अनुभूति भएको बताउनुभयो ।
उहाँले कतिपय साहित्यकारहरू साहित्य सिर्जनाको माध्यमबाट मात्रै चीनमा पनि आत्मनिर्भर हुने अवस्था नरहेको सङ्केत गर्नुभयो । उपमहासचिव चाउले चिनियाँ साहित्यको प्रवृत्ति र लेखन परम्पराबारे प्रष्ट पार्दै नेपाली साहित्यिक कृतिलाई चिनियाँ भाषा र चिनियाँ भाषाका साहित्यिक कृतिलाई नेपाली भाषामा अनुवाद गर्न तत्पर रहनुपर्नेमा जोडदिनुभयो ।
प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ “विमल निभा”ले आफू चिनियाँ साहित्यबारे परिचित भएको बताउनु हुँदै तत्कालीन चिनियाँ समाजको विकृति र विसङ्गतिबारे व्यङ्ग्यात्मक ढङ्गले चीनका महान् साहित्यकार लुसुनको लेखनबाट आफू प्रभावित भएको पनि चर्चा गर्नुभयो ।
प्राज्ञ चेतनाथ धमलाले दिनुभएको जानकारी अनुसार अन्तरक्रियामा चीन अल्पसङ्ख्यक जातीय साहित्य अध्ययन संस्थाका सदस्य हान् यामेइ, चीन लेखक सङ्घका सदस्य नीङ् यान्ता, चीन लेखन अध्ययन संस्थाका सदस्य लेउ चिएच्थ्वीन्, चीन लेखक सङ्घका सदस्य छियौ स्युलि, चीन रिपोर्ताज अध्ययन संस्थाका सदस्य ची सुहुवा, पेइचिङ पुस्तक व्यवसायी तथा स्क्रिप्ट लेखक व्हा सियाउख, पेइचिङ् हान्थ्विन कम्पनीका उपमहाव्यवस्थापक चाङ् चियान्फिङ्, नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदी, प्राज्ञ परिषद् सदस्यहरू बाबा बस्नेत, डा. कौशिला रिसाल, अमर न्यौपाने, त्रैलोक्यमान बनेपाली “अगिव“, हंसावती कुर्मी र प्राज्ञसभा सदस्य डा.बालाकृष्ण अधिकारीले नेपाल र चीनबीचको साहित्यिक सम्बन्ध, साहित्य लेखनका अनुभव र साहित्य सृजनाका विविध पक्षमा बोल्नु भएको थयो ।
ऐतिहासिक कालदेखि प्रगाढ सम्बन्ध रहँदै आएका नेपाल र चीनबीच साहित्यिक कृतिहरुको अनुवाद मार्फत नेपाल-चीन सम्बन्ध जोड्न विज्ञहरु एकमत भएका छन् ।