Tue. Dec 24th, 2024

करिव तीन हजारजनालाई शहीद घोषणा गर्दैछौं : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डू, २०८० माघ १३ गते शनिबार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले करिव ३ हजार जनालाई छिट्टै शहीद घोषणा गर्ने बताउनुभएको छ ।

शहीद प्रतिष्ठान नेपालले आज काठमाण्डूमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले माओवादी जनयुद्धका क्रममा सरकारले घोषणा गर्न बाँकि रहेका करिव ३ हजार जनालाई पनि छिट्टै शहीद घोषणा गर्न मन्त्रीपरिषद्बाट निर्णय भएर राजपत्रमा प्रकाशित गर्ने कामलाई अघि बढाइएको जानकारी दिनुभयो ।

त्यस क्रममा प्रधानमन्त्री प्रचण्डले सरकारले अझै पनि जनयुद्धका क्रममा बलिदान गर्नेहरुलाई शहीद बनाउने काममा छुटेका भए तत्काल सम्बोधन गर्ने आश्वासन समेत दिनुभयो । आफूले तेस्रो पटक प्रधानमन्त्री भएपछि माओवादी जनयुद्ध र जनआन्दोलनका शहीदहरु नछुटुन् भनेर विशेष ध्यान दिएको पनि प्रचण्डको भनाइ छ । सरकारले जनयुद्धमा शहीदहरुलाई राष्ट्रिय शहीद घोषणा गर्ने कुरालाई उच्च प्राथमिकता दिएको पनि प्रधानमन्त्री प्रचण्डले बताउनु भयो ।

प्रधानमन्त्री प्रचण्डले माओवादी जनयुद्धमा बेपक्ता भएकाहरुको पनि योगदानलाई कदर गर्न सरकारले सक्दो पहल गरिरहेको बताउनु भयो ।

Facebook Comments