Mon. May 20th, 2024

बिआरआई दक्षिण एशियाको आर्थिक परिदृश्यलाई आकार दिने महत्वपूर्ण साधन

भिओके समाचार/काठमाण्डू, २०८० माघ १३ गते शनिबार । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चीनले अगाडि सारेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई) अवधारणा दक्षिण एशियाको आर्थिक परिदृश्यलाई आकार दिने महत्वपूर्ण साधन भएको बताउनु भएको छ ।

सिल्क रोड इन्टरनेसनलथिङ्क ट्याङ्कएक्स्चेन्ज सेन्टर, चीनको पैचिङ भाषातथा साँस्कृतिक विश्वविद्यालय र साइनो नेपाल मिडिया सोसाइटीले संयुक्त रुपमा काठमाण्डूको दरबारमार्गस्थित होटल याक एण्ड यतीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

उपप्रधानमन्त्री श्रेष्ठले कनेक्टिभिटी, पूर्वाधार विकास र आर्थिक सहयोग अभिवृद्धिमा बिआरआईले जोड दिएको बताउनु भयो । उहाँले बीआरआई नयाँ सम्भावना खोल्ने, व्यापारलाई अझ सहज बनाउने र आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने माध्यम भएको बताउनु भयो । उहाँले नेपाल–चीन सम्बन्ध सदियौँ पुरानो तथा पारस्परिक सम्मान, समझदारी र सहयोगमा आधारित रहेको प्रसंग पनि उल्लेख गर्नुभयो । उपप्रधानमन्त्री श्रेष्ठले दुई देशबीचको सम्बन्ध कुटनीतिक र आर्थिक क्षेत्रमा मात्र नभई सांस्कृतिक र शैक्षिक क्षेत्रमा पनि प्रगाढ हुँदै गएकोमा खुशी व्यक्त गर्नुभयो । उपप्रधानमन्त्री श्रेष्ठले सडक, पुल र ऊर्जा लगायतका ठूला परियोजनाबाट बढाइएको ‘कनेक्टिभिटी’ले द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाएको समेत बताउनु भयो ।

नेपालका लागि चिनियाँ राजदूतावासका वाणिज्य सल्लाहकार सीएयुले नेपाल र चीनबीचको सम्बन्ध मित्रता, आपसी विश्वास र रणनीतिक साझेदारीमा आधारित रहेको बताउनुभयो । दुई देशले विकास र समृद्धितर्फ उन्मुखदिगो मित्रताको रणनीतिक साझेदारी स्थापना गरेको उल्लेख गर्दै उहाँले चीन-नेपाल मित्रताले नयाँअध्यायको ढोका खोलेको बताउनुभयो ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाका उपप्रमुख विजय कृष्ण श्रेष्ठले मध्यपुरलाई पर्यटकीय नगरी बनाउन गुरुयोजना निर्माणको तयारी गरिएको जानकारी दिँदै मध्यपुरमा चिनियाँ पर्यटकलाई स्वागत गर्न आफूहरु आतुर रहेको बताउनुभयो ।

नेपालचीन साँस्कृतिक तथा शैक्षिक परिषद्का सचिव दिलिप आचार्यले ऐतिहासिककालदेखि घनिष्ट सम्बन्ध रहँदै आएका नेपाल र चीनकाबीचमा धार्मिक तथा साँस्कृति सम्बन्ध मात्र नभई आर्थिक, प्राविधिक, शैक्षिक, जनस्वास्थ्यलगायतका क्षेत्रमा पनि सहयोगका सम्बन्धहरु दिन प्रतिदिन बढिरहेको बताउनु भयो ।

चीनको सछुवान म्युजियमका प्रमुख विज्ञ तथा अनुसन्धानकर्ता हौ ससीनले प्राचीन रेशम मार्गले चीनका फरक फरक वंशको शासनकालमा चीनको सियान, छिन्हाइ, तिब्बत, नेपाल, भारत र युरोपलाई जोड्नुका साथै सियान, युन्नान, बर्मा, भारत, बंगलादेश लगायतका देशहरुलाई समेत जोडेको बताउनु भयो । चीनको प्रचिन रेशममार्ग केवल एउटा मार्ग मात्र नभइ यो चीनबाट दक्षिण एशिया, दक्षिणपूर्वी एशिया, पश्चिम एशिया र युरोपलाई समेत आर्थिक सम्यन्त्रमा जोड्ने वलियो पुलभएको बताउनु भयो । बेल्ट एण्ड रोड चीनको मात्र नभइ विश्वका जनताको आर्थिक विकास र समृद्धिमा सहयोग पुर्याउने महान परियोजना भएको हौ ससीनको भनाइ छ ।

साईनो नेपाल मिडिया सोसाईटीका अध्यक्ष धु्रव पौडेलले दक्षिण एशियाली देशहरुमा जनस्तरको सम्बन्धको बुझाईमा ठूलो खाडल रहेको वर्तमानअवस्थामा त्यसलाई पुर्न सिल्क रोड युथ फोरम दक्षिण एशिया सहयोग सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले नेपाल, भुटान, भारत र चीनका विज्ञहरु जनस्तरमा उपस्थितभई यस किसिमका कार्यक्रमहरु सञ्चालन गर्नु महत्वपूर्ण संकेत भएको बताउनु भयो ।

कार्यक्रमा सिल्क रोड युथ फोरमका महासचिव याङ तोङफिङ, विदेश मामिला अध्ययन प्रतिष्ठान नेपालका प्रवक्ता मातृका पौडेल, भारतस्थित जवाहरलाल नेहरु विश्वविद्यालयका भित्री एशिया अध्ययन केन्द्रका सहायक प्राध्यापक तेसान नामग्याल, भुटानी कलाकार तेसरिङ दोर्जी, अरनिको परियोजना नेपालका अनिका रेबिका राजभण्डारी लगायतले चीनको बेल्ट एण्ड रोड परियोजना, यसकाअवसर र चुनौती लगायतका विविध विषयमा बोल्नु भएको थियो ।

Facebook Comments