Tue. Dec 24th, 2024

अयोध्यामा राममन्दिरको प्राण प्रतिष्ठा हुनु नयाँ युगको प्रवेशः श्रममन्त्री भण्डारी

काठमाण्डू, २०८० माघ ८ गते सोमबार । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले भारत उत्तर प्रदेशस्थित अयोध्यामा राममन्दिरको प्राण प्रतिष्ठा हुनुलाई नयाँ युगको प्रवेशका रुपमा लिनुपर्ने बताउनुभएको छ ।

जनकपुरधामस्थित जानकी मन्दिरमा आज एक लाख बढी दियो बाल्ने कार्यक्रममा मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले भारत उत्तर प्रदेशस्थित अयोध्यामा राममन्दिरको प्राण प्रतिष्ठालाई विश्वका हिन्दु धर्मालम्बीहरुको लागि ठूलो पर्व भएको बताउनु भयो । राम मन्दिरको प्राण प्रतिष्ठाले विश्वभरका भगवान श्रीरामको र सितारामको महिमाको जानकारी पाउने मौका पाएको भन्दै उहाँले भारत र नेपालबीच रोटीबेटीको सम्बन्ध नेपाली छोरी सीता र रामबीच भएको विवाहबाट शुरुवात भएकोले दुई देशको सम्बन्धलाई कसैले व्याख्या गर्न नसक्ने समेत बताउनु भयो ।

उहाँले भारतको अयोध्यामा राममन्दिरको प्राण प्रतिष्ठाले नेपालमा मात्रै नभएर विश्वमा रामप्रति आस्था राख्नेहरुले ठूलो उत्सवका रुपमा लिएको बताउनु भयो । भारतका प्रधानमन्त्री नेरन्द्र मोदीले अयोध्यामा राममन्दिरको प्राण प्रतिष्ठा गर्ने पहल गरेर विश्वका हिन्दुहरुलाई एउटै मालामा ल्याउन सफल भएको समेत मन्त्री भण्डारीले दाबी गर्नुभयो ।

Facebook Comments