Sat. May 18th, 2024

चीन : विद्यालयमा आगलागी हुँदा १३ जनाको मृत्यु

पैचिङ, २०८० माघ ६ गते शनिबार । मध्य चीनको हनान प्रान्तको एक विद्यालयको छात्रावासमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय प्रहरी तथा प्रशाासनले भनेको छ, “हनानको यान्शान्पु गाउँमा रहेको यिङकाई विद्यालयमा शुक्रबार राति ११ बजे आगलागी भएको स्थानीयले दमकल विभागलाई जानकारी गराएका थिए । उक्त आगलागीका कारण १३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने एक जना घाइते भएका छन् ।”

आगलागीको रिपोर्टपछि उद्धारकर्मीहरू तुरुन्तै घटनास्थलमा पुगेका थिए भने राति ११ः३८ बजे आगो नियन्त्रणमा आइसकेको थियो ।

गत नोभेम्बरमा उत्तरी चीनको सान्सी प्रान्तमा रहेको कोइला कम्पनीको कार्यालयमा आगलागी हुँदा २६ जनाको मृत्यु भएको थियो भने दर्जनौंलाई अस्पताल लगिएको थियो ।

गत अप्रिलमा पैचिङको एक अस्पतालमा भएको आगलागीमा परी २९ जनाको मृत्यु भएको थियो भने मानिसहरू झ्यालबाट हाम फालेरसमेत ज्यान जोगाउन बाध्य भएका थिए ।

शुक्रबारको आगलागीबाट बचेका घाइतेको हाल अस्पतालमा उपचार भइरहेको छ र उनीहरुको अवस्था स्थिर छ । स्थानीय अधिकारीहरूले आगलागीको कारणबारे अनुसन्धान गरिरहेको सिन्ह्वाले जनाएको छ । एएफपी

Facebook Comments