Mon. Dec 23rd, 2024

समतामूलक समृद्ध विश्व स्थापनामा ‘नाम’ले निर्णायक भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड  

अफ्रिकी राष्ट्र युगान्डाको राजधानी काम्पालामा शुक्रबार आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को १९ औँ शिखर सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर: रत्न श्रेष्ठ, रासस

काठमाण्डू, २०८० माघ ५ गते शुक्रबार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असंलग्न आन्दोलन (नाम)ले समतामूलक समृद्ध विश्वको स्थापना गर्न निर्णायक भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ ।

अफ्रिकी राष्ट्र युगान्डाको राजधानी काम्पालामा शुक्रबार आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को १९ औँ शिखर सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर: रत्न श्रेष्ठ, रासस

युगाण्डाको काम्पलामा आयोजित नामको १९औँ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै उहाँले संयुक्त राष्ट्रसङ्घपछिको सबैभन्दा प्रतिनिधि संस्थाका रूपमा नामले स्थायित्व र समृद्धिका लागि न्यायपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

‘नाम’का निरन्तरको मूल्य, मान्यता र सिद्धान्त हाम्रा लागि पवित्र रहेका उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यसको पालनाले शान्तिमय, मेलमिलाप र समृद्ध विश्व प्राप्त गर्न मार्गनिर्देश गरिरहेको स्पष्ट पार्नुभयो । “नाम आफैँमा सहयोगलाई प्रगाढ बनाउने थलो हो । सहयोगको माध्यमबाट विश्वव्यापी समृद्धि हासिल गर्ने प्रयास गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

समृद्धि थोरैका लागि सुअवसर हुन नसक्ने तथा सामूहिक प्रयासको फल प्रत्येक देश र सबैलाई उपलब्ध हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले सबै देशले समृद्धिलाई सकेसम्म समानरूपमा बाँडफाँट गर्न सक्ने वातावरण बनाइनुपर्ने बताउनुभयो ।

“नयाँ र पुराना द्वन्द्वका नतिजाले यस क्षेत्रलाई नभई सम्पूर्ण विश्व र विशेषगरी दक्षिण विश्वलाई घेरेको छ । त्यसैले यो सबैको सम्मान र मर्यादाका लागि राजनीतिक संवाद र कूटनीतिक माध्यमबाट शान्ति र सुरक्षाको स्थायी समाधान खोज्ने समय हो”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो । रासस

Facebook Comments