Mon. Dec 23rd, 2024

खोटाङबाट ३६ करोड भन्दा बढीको सुन्तला निर्यात

खोटाङ, २०८० पुस २५ गते बुधबार । दश स्थानीय तह रहेको खोटाङ जिल्लाबाट यस वर्ष रु ३६ करोड ३५ लाखभन्दा बढीको सुन्तला निर्यात भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको आठ सय १० हेक्टर क्षेत्रफल जमिनमा सुन्तलाखेती भएको कृषि ज्ञान केन्द्रले जनाएका छ । केन्द्रका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितका अनुसार जिल्लामा यस वर्ष तीन हजार सात सय ३५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।

यस वर्ष सबैभन्दा बढी जन्तेढुङ्गा गाउँपालिकामा सुन्तला उत्पादन भएको उहाँले जानकारी दिनुभयो । “जिल्लामा अहिले सात सय ४२ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाले उत्पादन दिन थालेको छ । गत वर्षको तुलनामा यस वर्ष दश मेट्रिक टन बढी उत्पादन भएको देखिन्छ”, उहाँले भन्नुभयो, “आगामी वर्ष थप वृद्धि हुँदै जाने अनुमान छ । किसानले उत्पादन गरेका सुन्तलाले राम्रो बजार पाएसँगै व्यावसायिकरूपमा खेती गर्नेको सङ्ख्या पनि बढ्दै गएको छ ।”

जन्तेढुङ्गा-६ दिप्लुङबाट मात्रै यस वर्ष रु एक करोडभन्दा बढीको सुन्तला निर्यात भएको स्थानीय बासिन्दा जगत् राईले दाबी गर्नुभएको छ । “हाम्रो वडाको फगतपुर, चोभे, सातमारा, केराबारीलगायतका ठाउँमा सबैभन्दा बढी सुन्तला उत्पादन हुन्छ । यस वर्ष रु एक करोडभन्दा बढीको निर्यात गरेका छौँ”, उहाँले भन्नुभयो, “कसैले आफैँले बजारसम्म पुर्याएर बिक्री गरे भने, कसैको बगानमै ठेकेदार आएर खरिद गरेका छन् । मैलेचाहिँ आफैँले सुनसरीको इटहरी र उदयपुरको बेल्टार, सप्तरीको फत्तेपुरलगायतका बजार पुर्याएर रु छ लाखको बेचेँ । यस वर्षभन्दा अर्को वर्ष अझै उत्पादन बढ्ने अपेक्षा गरेका छौँ ।”

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा-५ चिसापानीस्थित घोर्ले भन्ने एउटै गाउँबाट रु एक करोड बढीको सुन्तला निर्यात भएको स्थानीय किसानले बताएका छन् । उक्त वडाको वाचिपाला, खुुटालगायतका गाउँबाट पनि उत्तिकै मात्रामा सुन्तला निर्यात भएको जनाइएको छ । जन्तेढुङ्गा गाउँपालिकामा कात्तिक अन्तिम हप्ताबाटै सुन्तला पाक्ने गरेकाले पनि राम्रो बजार पाउने गरेको राईले जानकारी दिनुभयो । जन्तेढुङ्गाका किसानले लगाएका सुन्तलाखेतीमा अहिलेसम्म रोगसमेत नदेखिएको बताइएको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खामा सुन्तलाखेती गर्ने रामबहादुर कुँवरको बगानमा यस वर्ष असिनाले क्षति पुर्याएकाले गत वर्षको तुलनामा आधामात्र उत्पादन भएको जनाइएको छ । कुँवरले गत वर्ष रु नौ लाखको सुन्तला बेचेको बताउनुभएको थियो ।

आफूले उत्पादन गरेको सुन्तला दिक्तेल बजार र गाईघाटमा प्रतिकेजी रु एक सय १० देखि रु एक सय ३० सम्ममा बिक्री भइरहेको उहाँले बताउनुभयो । “यस वर्ष सुन्तलाबाट कम्तीमा पनि रु २० लाख कमाउने इच्छा थियो तर, असिनाले खत्तम गरिदियो । मैले चार सय बोट सुन्तला लगाएको छु । अहिले एक सय ३० बोटले उत्पादन दिन थालेको छ”, उहाँले भन्नुभयो, “अर्को वर्ष अरु बोटले पनि उत्पादन दिन्छ । अन्य खेतीभन्दा सुन्तलाखेती गर्न सजिलो र बढी आम्दानी दिने भएकाले यस वर्ष थप चार सय बोट बिरुवा रोप्ने योजनामा छु ।”

रावाबेँसी गाउँपालिकामा पनि यस वर्ष सुन्तला उत्पादन राम्रै भएको वडा नं २ खार्पाका स्थानीय किसान राजबहादुर मगरले बताउनुभयो । “सुन्तलाबाट आएको आम्दानीले वर्षभरि माछा-मासु खान र घर खर्च पुग्छ । यसअघि रोगले गर्दा धेरै क्षति भएको थियो”, उहाँले भन्नुभयो, “केही वर्षदेखि बगानमा देखिएको रोग गत वर्ष नियन्त्रण गर्ने प्रयास गरेका थियौँ । केही हदसम्म सफल पनि भएका छौँ । सम्भवतः आगामी वर्षदेखि धेरै समस्या नदेखिएला भन्ने लागेको छ । रोग देखिएन भने राम्रो उत्पादन हुन्छ ।”

राससका अनुसार जिल्लाका अन्य स्थानीय तहका किसानले पनि सुन्तलाबाट राम्रो आम्दानी गरिरहेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा देखिएको छ । जिल्लामा यातायातको सुविधा सहज भएपछि बजारसम्मको सिधा पहुँच विस्तार भएसँगै सुन्तलाखेतीप्रति किसानको आकर्षण बढेको कृषि प्रसार अधिकृत पण्डितले जानकारी दिनुभयो । जिल्लामा उत्पादित सुन्तला जिल्लाभित्रकै हाटबजार तथा धरान, विराटनगर, काठमाडौँलगायतका सहरमा निर्यात हुने गरेको पाइएको छ । जिल्लामा उत्पादित सुन्तला सबैभन्दा बढी बाहिरी जिल्लाबाट आएका ठेकेदारले खरिद गर्ने गरेका छन् ।

जिल्लामा उत्पादित सुन्तला स्वादिलो र रसिलो हुने भएकाले बजारको समस्या नभएको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले बताउनुभयो । “सुन्तलाबाट राम्रो आम्दानी हुने भएपछि धेरै किसानले व्यावसायिकरूपमा सुन्तलाखेती गर्न थालेका छन् । आगामी दिनमा व्यावसायिकरूपमा खेती गर्ने किसानका लागि सुन्तला ठूलो आर्थिक आम्दानीको स्रोत हुने अनुमान गरेका छौँ ।” सुन्तलाखेती गर्ने किसानका लागि कृषि ज्ञान केन्द्रले सहयोग गरिरहेको छ । जिल्लाका हरेक स्थानीय तहले पनि आ–आफ्नो क्षेत्रमा सुन्तलाखेती विस्तार तथा प्रवर्द्धनका कार्यक्रम बनाएर लागू गरेका छन् ।

Facebook Comments