Sat. May 18th, 2024

सर्लाहीको बरहथवा घटना छानविन गर्न गृह मन्त्रालयले बनायो ३ सदस्यीय समिति

काठमाण्डू, २०८० पुस २१ गते शनिबार । गृह मन्त्रालयले सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको घटनाको छानबिन गर्न ३ सदस्यीय समिति बनाएको छ ।

आज मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक विज्ञप्ति जारी गरी मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिनुभयो ।

समितिमा नेपाल प्रहरीका डीआईजी सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक भीमबहादुर बुढाथोकी सदस्य हुनुहुन्छ । शुक्रबार सर्लाहीको बरहथवा नगरपालिका-५ मा प्रार्थमिक स्वास्थ्यकेन्द्र बरहथवालाई स्तरोन्नति गर्ने वा नगर्ने भन्ने विषयमा भएको विवादमा स्थानीय वासिन्दाले गरेको प्रदर्शनमा गोली लागेर बरहथवा-६ का अन्दाजी ३० वर्षका जयशंकर साहको मृत्यु भएको थियो ।

मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने र छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिनुभएको गृह मन्त्रालयका प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

Facebook Comments