Sun. May 19th, 2024

कञ्चनपुरमा आजदेखि जलपन्छी गणना सुरु

कञ्चनपुर । कञ्चनपुरमा आजदेखि जलपन्छी गणना सुरु भएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अगुवाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पन्छी संरक्षण सङ्घ, हिमालयन नेचरगाइड, शुक्लाफाँटा नेचर गाइड एसोसिएसनलगायतका सङ्घसंस्थाले जलपन्छी गणना थालेका हुन् ।

जलपन्छी गणना आजदेखि माघ ७ गतेसम्म जारी रहने नेपाल पन्छी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराले बताउनुभयो । उहाँका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रमा सिमसार क्षेत्र, ताल तलैया, नदीलगायत र निकुञ्ज बाहिरका जलाधार क्षेत्रमा जलपन्छी गणना हुनेछ ।

सिमसार क्षेत्रमा आश्रित रैथाने र आगन्तुक चराको विवरण तथा अवस्था पत्ता लगाउन, सङ्ख्याको अद्यावधिक गर्न हरेक वर्ष यसै दिनदेखि जलपन्छी गणना हुँदै आएको छ । गणनाका क्रममा तालतलैयामा जलपन्छीको सङ्ख्या यकिन गर्ने कार्यसँगै सीमसारको अवस्थाबारे अध्ययन हुनेछ । कञ्चनपुरका सिमसार तथा जलाधार क्षेत्रमा प्रत्येक वर्षको हिउँदमा ५५ देखि ६० भन्दा बढी प्रजातिका चरा बसाइँ सरेर साइबेरियालगायत उत्तरी ध्रुवबाट बसाइँ सरेर आउने गरेका छन् । चैतदेखि जेठसम्म पुनः पन्छी साइबेरियालगायतका क्षेत्रमा फर्कने गरेका छन् । नेपालमा ८ सय ७७ प्रजातीका चरा पाइने गरेका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र त्यसको आसपासको क्षेत्रमा मात्रै रैथाने प्रजातिका ४ सय २३ प्रजातिका चरा पाइने गरेका छन् । नेपालमा सन् १९८७ देखि नियमित रुपमा जलपन्छी गणना हुँदै आएको छ ।

Facebook Comments