Mon. Dec 23rd, 2024

शेयर बजार दोहोरो अंकले वृद्धि

भिओके समाचार/काठमाण्डू, २०८० पुस १८ गते बुधबार । पछिल्ला ६ कारोबार दिनदेखि निरन्तर घटिरहेको शेयर बजार आज भने दोहोरो अंकले वृद्धि भएको छ । आज शेयर बजार मापक नेप्से परिसूचक २७.९० अंक बढेर २०५८ विन्दुमा बन्द भएको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य बढेको छ । हिजो १ अर्ब ४ करोड ४६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब ४ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज ९ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । दिव्यश्वरी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, पिपुल्स हाइड्रोपावर, भगवती हाइड्रोपावर, सोनापुर मिनरल्स र मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्य १० प्रतिशत वृद्धि भएको छ । लक्ष्मी लघुवित्तको शेयरमूल्य भने सर्वाधिक ५.१० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २६ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको २३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने आइएमई लाइफ र एनआरएन इन्फ्रास्ट्रक्चरको कारोबार रकम १५ करोड नाघेको छ ।

१३ उपसमूहमध्ये आज जलविद्युत् उपसमूहको परिसूचक सर्वाधिक ३.०८ प्रतिशतले वृद्धि भएको छ । यसैगरी होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

Facebook Comments