Mon. Dec 23rd, 2024

शेयर बजारमा उच्च गिरावट

भिओके समाचार/काठमाण्डू, २०८० पुस १७ गते मंगलबार । शेयर बजारमा आज उच्च अंकले गिरावट आएको छ । साताको दोस्रो कारोबार दिन आज शेयर बजार मापक नेप्से परिसूचकमा ३०.०५ अंकको गिरावट आई २०३०.१० विन्दुमा झरेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन करिब साढे ४ अर्बको शेयर कारोबार भएकोमा आज ४ अर्ब ४ करोड ४६ लाख ५९ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज तीन वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । चिरख्वा हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयर हाउजिङ्ग कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

त्यसैगरी, लक्ष्मी लघुवित्तको शेयरमूल्य ९.९६ प्रतिशतले बढेको छ । हिमालयन हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक १० प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा आज पनि शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज १६ करोड ११ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, हाथवे इन्भेष्टमेन्ट कम्पनीको १५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने सिटिजन लाइफ इन्स्योरेन्सका करिब १५ करोडको शेयर किनबेच भएको छ ।

आज १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.२१ प्रतिशत घटेको छ । त्यसैगरी, आज जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, जलविद्युत, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचकमा १ प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।

Facebook Comments