Fri. May 17th, 2024

‘मेलम्चीको पानी माघ पहिलो साता काठमाण्डूमा’

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमत अन्सारीले बाह्रै महिना मेलम्ची खानेपानी आयोजना सञ्चालनमा ल्याउन रु चार अर्ब ५० करोड खर्च लाग्ने बताउनुभएको छ ।    

सिन्धुपाल्चोक, २०८० पुस १३ गते शुक्रबार । खानेपानीमन्त्री महेन्द्रराय यादवले मेलम्चीको पानी आगामी माघ पहिलो साता काठमाण्डू पुर्‍याइने बताउनुभएको छ ।

आयोजनाको मुहानस्थल अम्बाथानको आज अवलोकन गर्दै मन्त्री यादवले द्रुतगतिमा काम भइरहेको र निर्धारित समयमै पानी काठमाडौँ पुग्नेमा ढुक्क हुन उपत्यकावासीलाई आग्रह गर्नुभयो । उहाँले आयोजनाका स्थानीय भण्डार, सप्लायर्सलगायतको समस्या समाधान गर्ने प्रतिबद्धतापछि अहिले तीव्रगतिमा काम भइरहेकाले तोकिएकै मितिमा पानी उपत्यकामा पुग्ने बताउनुभयो ।

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले सरकारको लक्ष्यअनुसार पानी पठाउने गरी काम भइरहेको जानकारी दिनुभयो । उहाँले अम्बाथानमा काम भइरहेको बताउनुभयो । “दैनिक १६/१७ घण्टा काम भइरहेको छ”, उहाँले भन्नुभयो । दैनिक १७ करोड लिटरका दरले काठमाण्डू उपत्यकामा पानी वितरण गर्ने सरकारको तयारी छ । क्षतिग्रस्त संरचना मर्मतपछि वर्षायाम सकिने बित्तिकै पुनः उपत्यकामा पानी वितरण गरिने आयोजनाले जनाएको छ ।

मन्त्री यादवसँगै प्रदेशसभा सदस्य कौशल किशोर राय, खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारी, मेलम्ची खानेपानी विकास समितिका सदस्य विष्णुमणि आचार्यलगायतले आयोजनाको मुहानस्थलबारे जानकारी लिनुभएको थियो । रासस

Facebook Comments