Tue. May 7th, 2024

शेयर बजार निरन्तर घट्दै

काठमाण्डू, २०८० पुस ११ गते बुधबार । शेयर बजार निरन्तर तेस्रो कारोबार दिन आज पनि घटेर बन्द भएको छ । गत साताको बिहीबारदेखि घट्न थालेको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । आज नेप्से परिसूचक १७.२३ अंक घटेर २०७०.८४ विन्दुमा झरेको छ ।

नेप्सेसँगै आज कारोबार रकममा पनि कमी आएको छ । आज ५ अर्ब २४ करोड ८७ लाख ८२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । अघिल्लो कारोबार दिन ७ अर्बभन्दा बढीको शेयर किनबेच भएको थियो ।

नेप्से घटे पनि आज ७ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेपाल इन्स्योरेन्स, इन्फिनिटी लघुवित्त, मनकामना इन्जिनियरिङ्ग, चिरख्वा हाइड्रोपावर, नेपाल वेयर हाउजिङ्ग, भिजन लुम्बिनी ऊर्जा र मुक्तिनाथ कृषि कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । बिपिडब्लु लघुवित्त र हिमालयन हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १९ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, शिवम् सिमेन्ट्सको साढे १८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने सूर्या ज्योति लाइफ इन्स्योरेन्स र हाथवे इन्भेष्टमेन्टको १६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

१३ उपसमूहमध्ये आज २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । निर्जीवन बीमा र म्युचुअल फण्ड उपसमूहको परिसूचक आज बढेको हो । व्यापार उपसमूहको परिसूचक आज सर्वाधिक २.३२ प्रतिशतले घटेको छ । त्यस्तै, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।

Facebook Comments