Tue. May 7th, 2024

प्रधानमन्त्री प्रचण्डद्वारा राष्ट्रको नाममा सम्बोधन, सरकारको कामको परिणाम आफ्नो हुटहुटी अनुरुप हुन नसकेको स्वीकारोत्ती

भिओके समाचार/काठमाण्डू, २०८० पुस १० गते मंगलबार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगत एक वर्षमा भएको सरकारको कामले आफ्नो हुटहुटी अनुसारको परिणाम नआएको बताउनुभएको छ ।

सरकार गठनको एक वर्ष पुगेको अवसरमा आज राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विगत एक वर्षमा सरकारको कामको परिणाम आफ्नो हुटहुटी अनुरुप हुन नसकेको स्वीकार गर्नुभएको हो । तर उहाँले सरकार असफल भने नभएको बताउनु भयो । उहाँले अबका दिनमा सरकारको कार्यशैली बदलिने संकेत गर्नुभयो । आगामी दिनमा आफु पूर्व निर्धारित र अपरिहार्य बाहेकका कुनैपनि बाहिरी कार्यक्रममा नजाने भन्दै नयाँ नीति, कार्यक्रम र बजेटको तयारी, विकास र सुशासनमा रहेको समस्या समाधान गर्न लाग्ने प्रधानमन्त्रीको योजना छ ।

प्रधानमन्त्री प्रचण्डले यहीँ साताभित्रमा प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्ने पनि बताउनु भयो । राष्ट्रका नाममा गरिएको सम्वोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके आफु पनि पदमा बसिरहन जरुरी नरहेको तर्क गर्नुभयो । कमजोर कार्य सम्पादन गर्ने मन्त्रीहरुले पनि पद ओगटेर बस्न नहुने भन्दै मन्त्रीहरुप्रति संकेत गर्दै हरेकले आआफनो भूमिकालाई न्याय हुनेगरी काम गर्नुपर्ने नैतिक दबाब रहेको प्रचण्डको भनाइ छ ।

उहाँले संघीयतालाई वास्तविक रुपमा कार्यान्वयन गराउने काममा आफू दृढ र प्रतिवद्ध रहेको समेत बताउनु भयो । साथै प्रधानमन्त्री प्रचण्डले अब विश्वविद्यालयहरुमा राजनीतिक भागबन्डा नहुने प्रस्ट पार्नुभयो । उहाँले संसारको कुनैपनि कुनामा रहेका योग्य नेपालीले विश्वविद्यालय सुधारको प्रष्ट र इमान्दार खाका सहित उपकुलपतिमा दाबी गर्न सक्ने बताउनु भयो । अब मेरिटोक्रेसी शुरु हुने र त्यसको प्रस्थान बिन्दु त्रिभुवन विश्वविद्यालय हुने उहाँले बताउनु भयो । प्रधानमन्त्री प्रचण्डले शिक्षामा गुणस्तरीय र प्रतिष्पर्धी जनशक्ति देशभित्रै उत्पादन गर्न सरकारले बहुआयामिक कदम चाल्ने बताउनु भयो । त्यस्तै चालु आर्थिक वर्षको चैत्र महिनाभित्र दुध किसानहरुको वक्यौता रकम भुक्तानी हुने प्रधानमन्त्रीले सम्बोधनमा उल्लेख गर्नुभयो । उहाँले मेलम्चीको पानी एक महिना भित्र काठमाडौंमा ल्याउने लक्ष्यसहित काम भइरहेको समेत बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले कृषि क्षेत्रमा दिइँदै आएको अनुदानलाई उत्पादनमा आधारित भएर वितरण गर्ने योजना सरकारको रहेको समेत बताउनु भयो । उहाँले कृषि क्षेत्रको रुपान्तरणका लागि सरकारले २०८१ देखि २०९१ सम्मलाई कृषि क्षेत्रको लगानी दशकको रुपमा अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले वास्तविक किसानलाई कृषिमा सहुलियत ऋणको व्यवस्था गर्न सरकार लागि परेको पनि जानकारी दिनुभयो । उहाँले जाजरकोट र रुकुममा अस्थायी पुनःनिर्माणको काम एक महिनाभित्र सम्पन्न भइसक्ने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले पुँजी बजार र बीमा क्षेत्रको सुधारका लागि गम्भिर गृहकार्यमा रहेको बताउनुभयो । पुँजी बजार र बीमा क्षेत्रमा मात्रात्मक सुधार भएपनि अपेक्षित सुधार हुन नसक्दा चिन्तित रहेको भन्दै यसको सुधारका लागि गम्भिर गृहकार्यमा रहेको बताउनु भयो । उहाँले व्यापार घाटामा पनि कमी आएको स्विकार गर्नुभयो ।

सबै आर्थिक र कुटनीतिक नियोगहरुलाई लगानी र पर्यटनमा परिणाममुखी परिचालनका लागि आह्वान गर्दै कार्यक्षमता कमजोर भएका राजदुत र नियोग प्रमुखहरुलाई फिर्ता बोलाउने तयारी गरिरहेको पनि प्रधानमन्त्री प्रचण्डले सम्बोधनमा उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले खेल पर्यटनको विकास गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । कीर्तिपुर रंगशालालाई पिपिपी मोडलमा विस्तार गरिने र काठमाडौंको मूलपानी, विराटनगर र कैलालीको फाप्ला क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गर्न थालिएको जानकारी दिँदै प्रधानमन्त्रीले चितवनको गौतम बुद्ध क्रिकेट रंगशालालाई पनि राष्ट्रिय गौरवकै आयोजनाको रूपमा तीन तहकै सरकारको समन्वयमा निर्माण हुन थालेको जानकारी दिनुभयो ।

Facebook Comments