Tue. May 7th, 2024

सञ्चारमाध्यमले गर्ने आलोचना र खबरदारी सकारात्मक : सञ्चारमन्त्री शर्मा

भिओके समाचार/काठमाण्डू, २०८० पुस १० गते मंगलबार । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यमले गर्ने स्वस्थ आलोचना र खबरदारी सकारात्मक रहेको बताउनुभएको छ ।

साउथ एसिया नेटवर्क टेलिभिजनले आज काठमाण्डूमा आयोजना गरेको दोस्रो चाइना-नेपाल मिडिया सम्मेलनको उद्धघाटन गर्नुहुँदै उहाँले सञ्चारमाध्यमले गर्ने खबरदारीले सरकारलगायत राजनीतिक शक्तिलाई गलत बाटोमा जानबाट रोक्ने धारणा व्यक्त गर्नुभयो । मन्त्री शर्माले सरकार सुशासन, समृद्धि र सामाजिक न्यायलाई मूल एजेण्डा बनाएर अघि बढेको उल्लेख गर्नुभयो । यसलाई कार्यान्वयन गर्ने सवालमा कमीकमजोरी भएमा सञ्चारमाध्यम र पत्रकारले स्वस्थ आलोचनाका साथै खबरदारी गर्नु सकारात्मक रहेको उहाँको भनाइ छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक अधिकार पनि पूर्ण नहुने भएकाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासहितको राजनीतिक अधिकार नेपालमा स्थापित भएको मन्त्री शर्माले बताउनुभयो । विगतमा नेपाली जनताले प्राप्त गरेका सफलतामा सञ्चारमाध्यमको ठूलो सहयोग र समर्थन रहँदै आएको मन्त्री शर्माको भनाइ छ ।

सन् १९५५ मा नेपाल र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध सुरु भए पनि आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध भने सयौँ वर्षअघिदेखिको भएको मन्त्री शर्माले बताउनुभयो । भृकुटी र अरनिको जस्ता विभूतिले नेपाल र चीनबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने काम गर्नुभएको मन्त्री शर्माले स्मरण गर्नुभयो । आपसी सम्बन्धलाई प्रगाढ बनाउन दुबै देशबाट उच्चस्तरीय भ्रमण पनि हुँदैआएको उहाँले बताउनुभयो ।

सरकार-सरकार र जनता–जनताबीचको सम्बन्धलाई थप उचाइमा पु-याउन दुवै देशका सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै मन्त्री शर्माले त्यसका लागि यस्ता सम्मेलन फलदायी हुने बताउनुभयो । कार्यक्रममा नेपालका लागि चीनका कार्यबाहक राजदूत वाङ चीन्, नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, नेपाल-चाइना मिडिया फोरमका अध्यक्ष तथा जनआस्था मिडियाका सञ्चालक किशोर श्रेष्ठ, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डाक्टर धनन्जय रेग्मी, साउथ एसिया नेटवर्क टिभीका संस्थापक हाउ चिहोङलगायतले नेपाल-चीन सम्बन्ध र द्विपक्षीय सम्बन्ध विस्तारमा सञ्चारमाध्यको भूमिकाका विषयमा धारणा राख्नुभएको थियो ।

Facebook Comments