Tue. May 7th, 2024

शेयर बजार वृद्धि हुने क्रम जारी

ID:16774559

काठमाण्डू, २०८० पुस २ गते सोमबार । केही दिनदेखि बढ्दो क्रममा रहेको शेयर बजार साताको दोस्रो कारोबार दिन आज सोमवार पनि बढेरै  बन्द भएको छ । गत साताको पहिलो कारोबार दिनदेखि उकालो लाग्न थालेको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

आज नेप्से परिसूचक ३८.१४ अंक बढेर २०६०.४९ विन्दुमा पुगेको छ । आज कारोबार रकम पनि उल्लेख्य वृद्धि भएको छ । आज ६ अर्ब ८६ करोड ८१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आजको कारोबार रकम पछिल्लो ११ महिनायताकै उच्च हो । यसअघि २०७९ पुस २६ गते ७ अर्बभन्दा बढीको कारोबार भएको थियो ।

कारोबार रकमका आधारमा आज हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको २० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

आजको बजारमा लघुवित्त कम्पनीहरुमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ । अधिकांश लघुवित्त कम्पनीहरुको शेयरमूल्य आज उच्च दरमा बढेको छ भने १३ उपसमूहमध्ये सबैभन्दा बढी बढ्ने उपसमूह पनि लघुवित्त नै रहेको छ ।आज जलविद्युत उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ५.५३ प्रतिशत बढेको छ । त्यसैगरी, होटल तथा पर्यटन र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने बैंकिङ्ग र वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी वृद्धि भएको छ ।

आज ९ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमध्ये ५ लघुवित्त कम्पनी रहेका छन् । बोटलर्स नेपाल, सूर्या ज्योति लाइफ इन्स्योरेन्स, स्वरोजगार लघुवित्त, जीवन विकास लघुवित्त, विपिडब्लु लघुवित्त, हाथवे इन्भेष्टमेन्ट, मुक्तिनाथ कृषि कम्पनी, नेरुडे लघुवित्त र धौलागिरी लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यसैगरी, जाल्पा लघुवित्त, मेरो माइक्रोफाइनान्स, किसान लघुवित्त र गुडविल फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

Facebook Comments