Sun. May 5th, 2024

शेयर बजारमा आज उत्साह, नेप्से परिसूचक २ हजार विन्दुमाथि

भिओके समाचार/२०८० पुस १ गते आईतबार । साताको पहिलो कारोबार दिन आज शेयर बजारमा उत्साहजन वृद्धि भई नेप्से परिसूचक २००० विन्दुमाथि पुगेर बन्द भएको छ। मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि निरन्तरजसो बढिरहेको बजारले आज पनि सोही क्रमलाई निरन्तरता दिएको छ।

आज शेयर बजार मापक नेप्से परिसूचक २७.७५ अंक बेर २०२२.३५ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । आज ५ अर्ब १५ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यो कारोबार रकम साढे ५ महिना यताकै उच्च हो । यसअघि गत असार १७ गते नेप्सेमा ५ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो ।

यस दिन १ दर्जनभन्दा बढी कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने अन्य १४ स्टकको मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । आज ७५ वटा स्टकको मूल्य भने घटेको छ । कारोबार रकमका आधारमा आज हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २५ करोड १२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, सोनापुर मिनरल्स र रिलायबल नेपाल लाइफको १६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

१३ उपसमूहमध्ये आज १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ ।जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ५.५५ प्रतिशत बढेको छ । बैंकिङ्ग, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक भने आज घटेको छ ।

Facebook Comments