Fri. May 17th, 2024

इरानमा इस्लामिक जिहादी समूहको आक्रमणमा परी ११ प्रहरीको मृत्यु

तेहरान । इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान–बलुचिस्तानको एक प्रहरी चौकीमा इस्लामिक सुन्नी जिहादी समूहले गरेको आक्रमणमा परी कम्तीमा ११ जना इरानी प्रहरी अधिकारीको मृत्यु भएको छ ।

“रास्क शहरमा रहेको प्रहरी मुख्यालयमा ‘आतङ्कवादी जिहादी समूह’ ले गरेको आक्रमणमा ११ जना प्रहरीको मृत्यु भएको छ भने अन्य केही अधिकारी घाइते भएका छन्,’ प्रान्तका उप-प्रशासक अलिरेजा मरहमतीले भन्नुभयो ।

सुरक्षा फौजसँग भएको गोली हानाहानमा कैयौँ आक्रमणकारीको पनि मृत्यु भएको टेलिभिजन च्यानलले जनाएको छ ।

अफगानिस्तान र पाकिस्तानसँग जोडिएको इरानको सीमा नजिकको क्षेत्रमा मध्यरातमा भएको यो आक्रमण केही वर्षयताकै सबैभन्दा घातक आक्रमण हो ।

यसको जिम्मेवारी सुन्नी जिहादी जैश अल अदल (आर्मी अफ जस्टिस) समूहले लिएको टिभी रिपोर्टमा उल्लेख छ । सन् २०१२ मा गठन भएको जैश अल अदललाई इरानले ‘आतंकवादी’ समूहको रूपमा कालोसूचीमा राखेको छ ।

अफगानिस्तानसँग सीमा जोडिएको सिस्तान-बलुचिस्तान प्रान्तमा भएको अशान्तिमा लागुऔषध तस्करी गर्ने गिरोह, बलुची अल्पसङ्ख्यकका विद्रोही र सुन्नी मुस्लिम अतिवादीहरू संलग्न छन् ।

यसअघि पनि जुलाई २३ मा गस्तीमा रहेका चार जना प्रहरीको मृत्यु भएको थियो ।

सिस्तान–बलुचिस्तान प्रान्तमा भएको जैश अल अदल समूहले दाबी गरेको सशस्त्र झडपमा दुई प्रहरी र चार जना आक्रमणकारी मारिएको दुई हप्तापछि यो घटना भएको हो ।

गत मे महिनामा सिस्तान-बलुचिस्तानको प्रान्तीय राजधानी जाहेदानको दक्षिणपूर्वमा रहेको सरवनमा सशस्त्र समूहसँग भएको झडपमा पाँच जना इरानी सीमा रक्षकको मृत्यु भएको थियो ।

सरकारी सञ्चारमाध्यमका अनुसार उक्त आक्रमण ‘देशमा घुसपैठ गर्न खोज्ने आतङ्कवादी समूहले’ गरेको थियो तर जसका सदस्यहरू’ घाइते अवस्थामा घटनास्थलबाट भाग्न सफल भएका थिए । एएफपी

Facebook Comments