Mon. May 6th, 2024

गाजा युद्धमा अमेरिकाको भिटोपछि इरानले दियो ‘विस्फोट’ को चेतावनी

तेहरान, २०८० मंसिर २३ गते शनिबार । अमेरिकाले गाजा युद्धमा युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमाथि भिटो (विशेषाधिकार) लगाएपछि इरानले शनिबार मध्यपूर्वमा अवस्थाको ‘नियन्त्रण गर्न नसकिने विस्फोट’ हुने खतराको चेतावनी दिएको छ ।

इस्लामिक गणतन्त्र इरानका शीर्ष कूटनीतिज्ञ (विदेशमन्त्री) होसेन अमिर–अब्दुल्लाहियानले गाजापट्टीमा मानवीय सहायता पठाउन सक्षम बनाउन इजिप्टसँगको राफा सीमालाई तत्काल खोल्न अपिल गर्नुभयो ।

इजराइली अधिकारीहरूका अनुसार इरान समर्थित इस्लामिक लडाकू समूह हमासले अक्टोबर ७ मा दक्षिणी इजराइलमा गरेको आश्चर्यजनक हमलामा अधिकांश सर्वसाधारणसहित करिब एक हजार दुई सय मानिसको मृत्यु भएको छ भने हमासले करिब दुई सय ४० जनालाई बन्धक बनाएको छ ।

इजराइलले जवाफमा हमासलाई नष्ट गर्ने वाचा गर्दै गाजामा आक्रामक हमला सुरु गरेको छ । हमलामा प्यालेस्टिनी क्षेत्रमा अधिकांश सर्वसाधारणसहित १७ हजार चार सयभन्दा बढी मानिसको मृत्यु भएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बताएको छ । इजराइल अमेरिकाको मुख्य सहयोगी मुलुक हो ।

गाजामा तत्काल युद्धविरामको आह्वान गरिएको सुरक्षा परिषद्को प्रस्तालाई अमेरिकाले शुक्रबार भिटो लगाएको थियो । उक्त प्रस्तावले हमासलाई अक्टोबर ७ मा गरेको हमलालाई दोहोर्याउन सक्षम बनाउने भन्दै भिटो लगाउनुपरेको अमेरिकाले बताएको छ ।

इरानको विदेश मन्त्रालयका अनुसार टेलिफोन संवादमा अमिर-अब्दुल्लाहियानले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भन्नुभयो, “जबसम्म अमेरिका यहुदीवादी शासन (इजराइल) को अपराधहरू र युद्धको निरन्तरतालाई समर्थन गर्छ तबसम्म यस क्षेत्रको स्थितिमा अनियन्त्रित विस्फोटको सम्भावना छ ।”

इरानी विदेशमन्त्रीले संयुक्त राष्ट्रसङ्घ बडापत्रको धारा ९९ लाई ‘अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्न साहसी कदम’ का रूपमा प्रयोग गर्ने राष्ट्रसङ्घीय महासचिवको प्रशंसा गर्नुभयो ।

एक साताको युद्धविरामपछि डिसेम्बर १ देखि इजराइल र हमासबीच पुनः युद्ध सुरु भएको छ । इजराइलका अनुसार हमासले युद्धविरामको उल्लङ्घन गरेको छ । विदेशमन्त्री अमिर–अब्दुल्लाहियानले महासचिव गुटेरेससँग भन्नुभयो, “हमासले युद्धविरामको उल्लङ्घन गरेको इजराइलको दाबी सम्पूर्णरूपमा गलत हो ।” उहाँले इजराइलका लागि अमेरिकी समर्थनले स्थायी युद्धविराम हासिल गर्न कठिन बनाएको बताउनुभयो । रासस

Facebook Comments