Tue. May 7th, 2024

प्रधानमन्त्री प्रचण्डद्वारा विपीन जोशीका परिवारसँग भेट

भिओके समाचार/गोदावरी (कैलाली), २०८० मंसिर २२ गते शुक्रबार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलमा हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीका बुबाआमासँग आज भेट गर्नुभएको छ । कैलाली विमानस्थलमा प्रधानमन्त्री प्रचण्डले जोशीका बुबाआमासँग भेट गर्नुभएको प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

भेटमा जोशीका बुबाआमाले विपिनको उद्धारको पहलबारे प्रधानमन्त्रीसँग सोध्नुभएको थियो । सो क्रममा प्रधानमन्त्रीले विपिनको सकुशल रिहाइका लागि अधिकतम कूटनीतिक पहल जारी राखेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम महोत्सव उद्घाटन कार्यक्रममा सहभागी हुन आज बिहान कैलाली पुग्नुभएको छ । सोही क्रममा प्रधानमन्त्रीले जोशी परिवारसँग भेटघाट गर्नुभएको हो ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषिविज्ञान सङ्कायमा अध्ययनरत विपिनसहितका ४९ विद्यार्थी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल जानुभएको थियो । गत असोज २० गते किबुजस्थित कृषि फार्ममा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने कञ्चनपुरको भीमदत्त नगरपालिका-३ का जोशी सम्पर्कविहीन हुनुभएको थियो ।

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष  ‘प्रचण्ड’ आज धनगढीमा हुने सुदूरपश्चिम महोत्सवको उद्घाटनलगायतका कार्यक्रममा सहभागी हुन आज विहान धनगढी आइपुग्नुभएको हो ।

अध्यक्ष अहिले प्रचण्ड कैलालीको धनगढी उपमहानगरपालिका-१६ घसेटीमा हुने पार्टी प्रशिक्षण तथा भेटघाट कार्यक्रममा सहभागी हुनुभएको छ । सोपश्चात प्रधानमन्त्री दाहालले दिउँसो १ बजे कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्नुहुने कार्यक्रम छ ।

Facebook Comments