Sat. Nov 23rd, 2024

 युरोपेली युनियनको निर्यात नीतिहरू ‘अर्थहीन’ छन्- चीन   

पैचिङ, २०८० मंसिर २२ गते शुक्रबार । चीनले राजधानीमा एउटा उच्चस्तरीय शिखर सम्मेलनको पूर्वसन्ध्यामा पैचिङप्रति युरोपेली युनियनको निर्यात नीतिहरूको कुनै ‘अर्थ’ नभएको बुधबार बताएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भन्नुभयो, “यदि युरोपेली युनियनले एकातिर चीनमा उच्च प्रविधियुक्त उत्पादनहरूको निर्यातमा गम्भीर प्रतिबन्ध लगाउँछ र अर्कातिर चीनतर्फको निर्यातमा उल्लेखनीय वृद्धिको अपेक्षा गर्छ भने यसको कुनै अर्थ छैन ।”

युरोपेली युनियन-चीन शिखर सम्मेलनका लागि युनियनका प्रमुख उर्सुला भोन डेर लेयन, युनियनका शीर्ष कूटनीतिज्ञ जोसेप बोरेल र युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिसेल बिहीबार पैचिङमा हुनुहुनेछ । सन् २०१९ पछि ब्रसेल्स प्रमुखहरू र चिनियाँ राष्ट्रपति सी चिनपिङ तथा प्रधानमन्त्री ली छ्याङबीच यो पहिलो व्यक्तिगत शिखर सम्मेलन हुनेछ र मुख्य कुराकानीको विषयमध्ये एक व्यापार हुनेछ ।

“युरोपेली नेता समयसँगै व्यापार सम्बन्धमा असन्तुलन सहन सक्तैनन्”, भोन डेर लेयनले वार्ताअघि एक अन्तरवार्तामा एएफपीलाई भन्नुभयो, “तर हामी वार्ताबाट समाधान निकाल्न रुचाउँछौँ ।”

“चीन युरोपेली युनियनको विश्वासयोग्य र अपरिहार्य साझेदार हो, वार्ता र परामर्शको माध्यमबाट मतभेदहरूलाई सही ढङ्गले सम्हाल्नु महत्त्वपूर्ण कुरा हो”, प्रवक्ता वाङले बुधबार एक नियमित पत्रकार सम्मेलनमा भन्नुभयो, “युरोपेली पक्षले चीनसँग मिलेर काम गर्नेछ, चीन-युरोपेली युनियनका नेताहरूको बैठकको सफल आयोजनाका लागि सकारात्मक वातावरण बनाउने छ र चीन-युरोपेली युनियनले सम्बन्धलाई स्वस्थ र दिगो विकासका लागि संयुक्त प्रयास गर्नेछन् भन्ने हामीलाई विश्वास छ ।” एएफपी

Facebook Comments