Fri. May 17th, 2024

अब राजनीतिक दल विकास निर्माणमा लाग्नुपर्छ : अध्यक्ष ओली   

ढोरपाटन (बागलुङ), २०८० मंसिर २० गते बुधबार । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अब राजनीतिक दलले पार्टीको मात्रै नभई विकास निर्माणको काम गर्नुपर्ने बताउनुभएको छ ।

झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका यात्राका क्रममा बागलुङको बुर्तिबाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विकास विस्तारै विकटका ठाउँसम्म पुगेको बताउनुभयो ।

अहिलेसम्म विकासले नजोडिएका ठाउँमा तत्काल जोड्नतर्फ लाग्नुपर्ने भन्दै अब गाउँलाई प्रविधिसँग जोड्न जरुरी रहेको उहाँले बताउनुभयो । अहिलेको सरकारले एमालले खबरदारीसँगै रचनात्मक सहयोगसमेत गर्दै आएको अध्यक्ष ओलीले बताउनुभयो । एमालेले नेपाली जनताको हरेक दुःखमा साथ दिँदै आएको भन्दै बाढी पहिरो होस् या भूकम्प हरेक विपद्का पीडितको पीडामा मलम लगाउने काम गरेको बताउनुभयो ।

अघिल्लो महिना गएको भूकम्पका कारण घरबारविहीन भएका जाजरकोट र रुकुम पश्चिममा एमालेले मङ्सिर १ गतेदेखि भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्न ११ सय स्वयंसेवक परिचालन गरिरहेको र आठ सय बढी अस्थायी घर निर्माण गरी हस्तान्तरण गरेको उहाँको दाबी छ ।

अध्यक्ष ओलीले भन्नुभयो, “एमाले जुनसुकै बेला पनि नेपाली जनताको साथमा छ, जनताको पक्षमा छ, अब दलहरुले पार्टीको मात्रै काम गर्ने होइन, विकास र समृद्धिका लागि काम गर्नुपर्छ, मुलुकमा विकासले विस्तारै गति लिँदैछ, अब हरेक ठाउँमा प्राविधिक शिक्षाको पढाइ हुने वातावरण तयार गर्नुपर्छ, गाउँलाई प्रविधिसँग जोडेर समृद्धि हासिल गर्नु जरुरी छ ।”

एमालेले मध्यपहाडको अवस्था बुझेर यहाँको विकासका लागि खाका तयार गर्नका लागि झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका यात्रा थालेको बताउनुभयो । यात्राका क्रममा धेरै ठाउँका विकास हुँदै गएको देखेको अध्यक्ष ओलीको भनाइ छ ।

मङ्सिर १४ गतेदेखि सुरू भएको झुलाघाट-चिवाभञ्ज्याङ मध्यपहाडी लोकमार्ग यात्राको क्रममा एमालेको टोली बुधबार पश्चिम बागलुङ आइपुगेको छ । रासस

Facebook Comments