Sat. Apr 27th, 2024

शेयर बजार लगातार सातौँ कारोबार दिन घटेर बन्द

भिओके समाचार/काठमाण्डू, २०८० मंसिर १९ गते मंगलबार । केही दिनदेखि निरन्तर ओरालो लागिरहेको शेयर बजार आज सातौँ कारोबार दिन पनि घटेरै बन्द भएको छ । गत साताको सोमबारदेखि घट्न थालेको बजारले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । आज
शेयर बजार मापक नेप्से परिसूचक १०.१० अंक घटेर १८३७.७१ विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । हिजो १ अर्ब १९ करोडको शेयर कारोबार भएकोमा आज १ अर्ब ५४ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

आज सिंगटी हाइड्रो इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । विशाल बजार कम्पनीको शेयरमूल्य सर्वाधिक साढे ९ प्रतिशत घटेको छ । त्यस्तै, माउन्टेन इनर्जी, उन्नती सहकार्य लघुवित्त र एनआरएन लघुवित्तको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले घटेको छ । कारोबार रकमका आधारमा आज माउन्टेन इनर्जी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३६ करोड २९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, सिटिजन लाइफ इन्स्योरेन्सको ८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

१३ उपसमूहमध्ये आज जीवन बीमा उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ । जीवन बीमा उपसमूहको परिसूचक ०.१६ प्रतिशत बढेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक आज सर्वाधिक २.५७ प्रतिशत घटेको छ । होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

Facebook Comments