Sun. May 5th, 2024

शेयर बजार र कारोबार ह्वात्तै वृद्धि

ID:16774559

भिओके समाचार/काठमाण्डू, २०८० मंसिर १० गते आईतबार । लामो समयको गिरावटपछि आज शेयर बजार र कारोबार रकम ह्वात्तै बढेको छ । साताको पहिलो कारोबार दिन आज शेयर बजार मापक नेप्से परिसूचक ४५.७५ अंक बढेर १९०७.९५ विन्दुमा पुगेको हो । आज कारोबार पनि लामो समयपछि उल्लेखनीय रुपमा वृद्धि भई २ अर्ब १ करोड १७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । नेप्सेमा २ महिनापछि २ अर्बभन्दा बढीको शेयर कारोबार भएको हो ।

आज तीनवटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । छ्याङ्गदी हाइड्रोपावर, भगवती हाइड्रोपावर र विजय लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यसैगरी, यस दिन स्वरोजगार लघुवित्त, रावा इनर्जी, मैलुङ्ग खोला जलविद्युत र सिंगटी हाइड्रोको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन शेयरमूल्य घटेका स्टकहरुको मूल्य गिरावट दर भने साढे २ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ११ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, यस दिन रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साढे ७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने नबिल बैंकको कारोबार रकम ७ करोड नाघेको छ ।

आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४‍.४४ प्रतिशत बढेको छ । त्यसैगरी, वित्त, जलविद्युत, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक र लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

Facebook Comments